नेपाल–भारत ऊर्जा सहकार्यको अर्को महत्वपूर्ण कडीका रूपमा सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइन परियोजना अघि बढेको छ। नेपाल आयल निगमले झापाको चारआलीमा इन्धन भण्डारण केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापन र वातावरणीय अध्ययन सुरु गर्दै निर्माण चरणतर्फ कदम चालेको हो।

भारत सरकारको सहयोगमा ११ अर्ब रुपैयाँभन्दा बढी लागतमा बन्ने यो परियोजनाबाट सिलीगुडीदेखि ५० किलोमिटर लामो पाइपलाइनमार्फत इन्धन नेपाल भित्र्याइनेछ। निगमले चारआलीमा खरिद गरेको २३ बिघा भन्दा बढी जग्गामा १९ हजार किलोलिटर क्षमताको अत्याधुनिक ग्रीनफिल्ड स्मार्ट टर्मिनल निर्माण गर्ने तयारी गरेको छ।

निगमका अनुसार हाल ल्यान्ड डेभलपमेन्टको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नौ महिनाभित्र जग्गा तयार भएपछि पाइपलाइन र भण्डारण गृह निर्माण सुरु हुनेछ। परियोजना पूरा भएपछि पूर्वी नेपालमा इन्धन आपूर्ति सुरक्षित, सस्तो र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
एक वर्षअघि निगम र भारतीय आयल कर्पोरेसनबीच सम्झौता भए पनि ढिलाइमा परेको आयोजना अब गति लिने संकेत देखिएको छ।


