
पूर्व प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई सम्मान गर्दाको तस्वीर ।

बिर्तामोड । झापामा विपद् व्यवस्थापनको भरपर्दो नागरिक मोडलका रूपमा स्थापित ‘एकका लागि एक अभियान’ ले आइतबार बिर्तामोडमा विशेष समारोह आयोजना गरी सहयोगदाता तथा अभियन्तालाई सम्मान गरेको छ। कार्यक्रममार्फत अभियानले आफ्नो आय–व्यय सार्वजनिक गर्दै पारदर्शिता र जवाफदेहितालाई समेत प्राथमिकतामा राखेको छ।

समारोहमा तत्कालीन झापाका प्रमुख जिल्ला अधिकारी तथा हाल काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई विशेष सम्मान गरिएको थियो। उनलाई झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, अभियानका संयोजक महेन्द्रकुमार गिरीलगायतले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका हुन्।
गत साउन १८ र १९ गते अविरल वर्षाका कारण झापा र इलाममा आएको बाढी तथा पहिरोका बेला अभियानले खेलेको सक्रिय भूमिकाको कदर गर्दै राहत तथा उद्धारमा योगदान पु¥याउने संघ–संस्था र दातालाई सम्मान गरिएको संयोजक गिरीले जानकारी दिए। उक्त विपद्का कारण पाँच हजार पाँच सयभन्दा बढी परिवारका २५ हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए।


अभियानका संयोजक महेन्द्रकुमार गिरी ।
जिल्ला विपद् व्यवस्थापन समिति तथा तत्कालीन प्रमुख जिल्ला अधिकारीको आग्रहमा अभियान तत्काल सक्रिय भई प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यमा जुटेको थियो। अभियानको समन्वयमा करिब दुई हजार परिवारलाई प्रतिपरिवार तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँ बराबरको खाद्य तथा गैर–खाद्य सामग्री वितरण गरिएको थियो। यसमध्ये झापा र इलामका एक सय परिवारलाई प्रत्यक्ष राहत उपलब्ध गराइएको थियो।
त्यसैगरी विभिन्न दाताको सहयोगमा सात सय परिवारका लागि सरसफाइ सामग्रीसहित पाँच सय हाइजिन किट, तीन सय सेन्टर किट र दुई सय ब्ल्याङ्केट वितरण गरिएको थियो। राहत वितरण एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्न अभियानले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरेको जनाएको छ।
कार्यक्रममा संयोजक गिरीले अभियान स्थापना भएयता हालसम्मको आय–व्यय विवरण सार्वजनिक गर्दै आर्थिक तथा जिन्सी सहयोगको विस्तृत विवरण प्रस्तुत गरे। उनका अनुसार अभियानले सुरुवाती चरणमा छ लाख रुपैयाँबाट काम थालेकोमा हालसम्म २५ लाख ८५ हजार ९ सय ५० रुपैयाँ नगद तथा ठूलो परिमाणमा जिन्सी सामग्री संकलन गरी पीडितलाई सहयोग गरेको छ।


वर्तमान प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई मायाँको चिनो प्रदान गर्दै संयोजक गिरी ।
संयोजक गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अभियान सदस्य लीला चिमरियाले राखेकी थिइन् भने सहजीकरण नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका थिए। प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल तथा सम्मानित व्यक्तित्वका तर्फबाट गोपालकुमार अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

अभियन्ता, सहयोगी र अतिथिहरु ।
२०७७ साल वैशाख १९ गते स्थापना भएको ‘एकका लागि एक अभियान’ ले कोभिड–१९ महामारीका दुवै लहरमा उल्लेखनीय मानवीय सेवा गरेको इतिहास बोकेको छ। महामारीका बेला राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, प्लाज्मा बैंक, अक्सिजन बैंक स्थापना, स्वास्थ्य सामग्री सहयोगदेखि पीसीआर परीक्षण प्रयोगशाला स्थापना सम्मका काम अभियानले सम्पन्न गरेको थियो।
हाल अभियानले प्राकृतिक विपत्तिको तत्काल सामना गर्न पाँच करोड रुपैयाँको दिगो विपद् कोष तथा पाँच करोड रुपैयाँकै अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित काम गरिरहेको छ। “एक थुकी सुकी, सय थुकी नदी” भन्ने भावनालाई आत्मसात् गर्दै अघि बढेको अभियानमा हालसम्म एक लाखभन्दा बढी दाताको सहभागिता रहेको संयोजक गिरीले बताए।
झापामा मात्र सीमित नरही देशभर संकट व्यवस्थापनको प्रभावकारी नागरिक मोडलका रूपमा ‘एकका लागि एक अभियान’ लाई हेरिन थालेको छ।

