

ताप्लेजुङ- ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित बालमन्दिर आधारभूत विद्यालयका शिक्षक र विद्यार्थीलाई न्यानो टोपी वितरण गरिएको छ । फुङ्लिङ नगरपालिका र कोअपरेटिभ्स युथ अर्गनाइजेसन धादिङको आर्थिक सहयोगमा शिक्षक र विद्यार्थीलाई बुधबार टोपी वितरण गरिएको हो ।

बालमन्दिर आधारभूत विद्यालयका १२ जना शिक्षक र त्यहाँ अध्ययनरत ८५ जना विद्यार्थीलाई अहिलेको जाडो मौसममा लगाउने न्यानो टोपी वितरण गरिएको छ । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, शिक्षा शाखाका अधिकृत प्रकाश पौडेल लगायतले बालमन्दिरका शिक्षक र विद्यार्थीलाई टोपी वितरण गर्नु भएको हो ।
जाडो मौसममा लगाउने न्यानो टोपीले शिक्षक र विद्यार्थीको स्वास्थ्य तन्दुरुस्तीसँगै पढाइमा टेवा पुग्ने विश्वास गरिएको प्रधानाध्यापक धर्मप्रसाद पौड्यालले बताउनु भयो । बालमन्दिरमा अध्ययनरत बालबालिका (विद्यार्थी) र शिक्षक समेतका लागि न्यानो टोपी वितरण गरेकाले सहयोगी निकायप्रति प्रधानाध्यापक पौडेल धन्यवाद तथा आभार व्यक्त गर्नु भएको छ ।

यता टोपी वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख मादेनले आगामी शैक्षिकसत्र २०८३ मा दुई जना शिक्षकको व्यवस्था गर्ने र चार कोठे विद्यालय भवन निर्माण गर्ने गरी योजना विनियोजन गरिदिने बचन दिनु भयो । बालमन्दिर आधारभूत विद्यालयमा हाल कक्षा ४ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुँदै आएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधाकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।


