Aamsanchar

इरान छोड्न आफ्ना नागरिकलाई अमेरिकी दूतावासको एडभाइजरी

Author Image
मङ्गलवार, पौष २९, २०८२

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूको समस्या बढाइदिएका छन् । ट्रम्पले भनेका छन्, “इरानसँग व्यापार गर्ने जुनसुकै देशले अमेरिकासँग गरिने सबै प्रकारका व्यापारमा २५ प्रतिशत ट्यारिफ (भन्सार शुल्क) तिर्नुपर्नेछ ।”

ट्रम्पको यो निर्णयले इरानमाथि दबाब बढ्ने आशंका गरिएको छ । इरानमा १५ दिनदेखि देशव्यापी विरोध प्रदर्शन भइरहेको छ ।

ट्रम्पले आफ्नो पोस्टमा उक्त शुल्क तत्काल लागु हुने स्पष्ट पारेका छन् । यसअघि, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पनि इरानलाई अप्रत्यक्ष रूपमा चेतावनी जारी गरेकी थिइन् ।

तुरुन्तै इरान छोड्न अमेरिकी दूतावासको एडभाइजरी
इरानस्थित अमेरिकी भर्चुअल दूतावासले एक एडभाइजरी जारी गर्दै अमेरिकी नागरिकहरूलाई तुरुन्तै इरान छोड्न भनेको छ ।

“इरानमा विरोध प्रदर्शन बढ्दै गएको छ । यसले हिंसात्मक रूप लिन सक्छ, जसका कारण गिरफ्तारी र चोटपटक लाग्न सक्छ । सुरक्षा व्यवस्था कडा पारिएको छ,” एडभाइजरीमा भनिएको छ, “सडकहरू बन्द छन्, सार्वजनिक यातायात अवरुद्ध छ र इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ ।”

दूतावासले एयरलाइन्सहरूले इरान आउने–जाने उडानहरू सीमित वा रद्द गरिरहेको जानकारी दिँदै अमेरिकी नागरिकलाई इन्टरनेट अवरोधका लागि तयार रहन र सञ्चारका वैकल्पिक माध्यमहरूको योजना बनाउन आग्रह गरेको छ । सुरक्षित भएमा आर्मेनिया वा टर्किए (टर्की)को सडक मार्ग हुँदै इरान छोड्न पनि सुझाव दिइएको छ ।

ह्वाइट हाउसले के दियो चेतावनी ?
अमेरिका र इरानबीच बढ्दो तनावबीच क्यारोलिन लेभिटले भनिन्, “राष्ट्रपति ट्रम्पले सधैँ सबै विकल्पहरू खुला राख्नुहुन्छ । कूटनीति उहाँको पहिलो रोजाइ हो, तर आवश्यकता परेमा हवाई सैन्य हमला पनि विकल्पहरूमा सामेल छन् ।” लेभिटले राष्ट्रपति ट्रम्पले परिस्थितिलाई नजिकबाट नियालिरहेको बताइन् ।

लेभिटका अनुसार इरानी शासकले सार्वजनिक मञ्चहरूमा दिइरहेको बयान र भित्री च्यानलहरूबाट अमेरिकी प्रशासनलाई प्राप्त भइरहेका निजी सन्देशहरू फरक छन् । ट्रम्प यी निजी सन्देशहरूलाई गम्भीरताका साथ जाँच्न चाहन्छन् र वार्ताको वास्तविक गुञ्जायस छ वा छैन हेर्न चाहन्छन् ।

इरानले वार्ताको बाटो खुला रहेको बताए पनि सार्वजनिक रूपमा भने इजरायल र अमेरिकाले देशलाई अस्थिर बनाएको आरोप लगाउँदै कडा बयान दिइरहेको छ ।

ह्वाइट हाउसकी प्रवक्ताले भनिन्, “ट्रम्प सधैँ पहिले वार्ता र कूटनीतिक बाटोलाई प्राथमिकता दिनुहुन्छ । कुनै पनि टकराव अघि सबै शान्तिपूर्ण विकल्पहरू अपनाइनुपर्छ भन्ने उहाँको विश्वास छ ।” तर, उनले यदि अमेरिकाको सुरक्षा वा हितमा खतरा उत्पन्न भएमा राष्ट्रपति कठोर निर्णय लिन पछि नहट्ने स्पष्ट पारिन् । अलजजिराबाट ।

Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर