[क्षितिज ‘बिन्दु’]
झापा ,
चिटिक्क सुन्दर भिरालो पहाडको काखमा थुम्का थुम्की अटाएर खोला किनारा बेरेको सानो टापुजस्तै गाउँ । बिभिन्न जातजाति- बाहुन, क्षेत्री, मगर, थारु, कामी, दमाइँ, सार्की, लोहार, पण्डित, कुमाल, राइ, लिम्बु, तामाङं । एकै धाराको पानी खाएर एउटै संस्कृति र मेला पर्वमा रमाएको जीवन । वर्षौँ वर्ष भइसकेको रहेछ । म पनि ठुली हुँदै गएँ । मेरा बाल सखीहरु पनि । बिस्तारै बाल सखीहरु गाउँबाट हराउँदै गए । एकदिन त्यसरी नै म पनि हराएँ । कहिलेकाहिँ टुप्लुक्क देखिन्थेँ उनीहरु जस्तै ।
गाउँ घन्किएर छिमेकमा राजुको बिहेको कुरो चल्यो । बस्ति जुट्यो पात, टपरा , टाटीबेरा सरसफाइमा । हामी फाट्टफुट्ट किनमेलमा । भोली जन्ती जाने दिन तयारी सम्पन्न भइसकेको थियो सबै – गाउँकै बाँडफाँडमा । भित्र ग्रह पूजा थियो । म पनि टुप्लुक्क पुगेँ । छिमेकी दाई सेलरोटी खाँदै बोल्यो – ‘खाउँ आजै ! भोली त के हो के हो ?’ पण्डित बा पूजामै ब्यस्त थिए । आमैको अनुहार चिन्तित देखियो । राजुमा बेचैनी । प्रसादको भाँचिएको टुक्रा छाडेर संकटको आँधी आएझैँ राजु फुत्त हिँड्यो । साँझ अबेर सम्म पनि आएन । हामी छिमेक भेला भएर राजुलाइ पखिरह्यौ । रात कालो थियो । मनको पिरोलोले बिहे घर उराठिलो थियो । पर एकहुल जवानको कल्याङ कुलुङ आवाज आँगनमा आएर बन्दुक बिसायो र सोध्यो- ‘भोलीको बेहुलो खोइ ?’ सोध्ने नाइके जस्तै थियो । अरु नकाब लगाएका – छ – आठ जना जति वरिपरी छरिए । मैले सोचेँ – बिहेका गहना लाने भए ।
बन्दुक सोझ्याउँदै अह्रायो- ‘ए जा माथि लुकेको होला निकाल्’ । पन्डित बा भान्साबाटै चिहाए । आमै हातको धिप्रि सँगै सिकुवामा नै अडिइन् । साना केटाकेटी सिकुवाको कुनामा सास रोकेर उभिरहे । उनीहरु तलासी सकेर बुट बजाउदै ओर्लिए – ‘माथि छैन भागेछ’ । नाइके बोल्यो ‘भोली यो बिहे हुँदैन । रोक नत्र लास ल्याइदिन्छौँ । हामी प्रचन्डपथ हौँ । हाम्रो सिद्धान्त – एकजना सँग मात्र यौन र विवाह । त्यसैले यो बिहे रोकेका हौँ । यो हाम्रो पार्टीको निर्देशन ।‘ मलाई जिउँदो राजु चाहिएको थियो । मैले उनीहरुको निर्देशनमा हस्ताक्षर गरिदिएँ । भोलीको बिहे बिथोलेर उनीहरु बाटो लागे । किन भयो ? के भयो ? राजुले बेइमान गरेको थियो वा थिएन ? भोली बेहुली पक्षलाई के जवाफ दिने ? पन्डितबा को मर्यादा तुहियो । आमैको आशा रहर कथित प्रचण्डपथले छिनभरमै चकनाचुर भयो । त्यो रात सधैँको भन्दा लामो भयो । ढोकाहरु राजुको पर्खाइमा अनिँदै रहे । आँगन र गोरेटो तर्सिरह्यो । हामी राजुकै प्रतीक्षामा ब्यग्र थियौ ।
बिहान भइसक्दा पनि गाउँमा कतै चालचुल थिएन । मेरो मनमा चिसो पस्यो । घडीले १० बजाएछ । फाट्टफुट्ट चलमलाए मान्छेहरु । उनीहरुले नै भने – चमेलीको बिहे पार्टिले गरिदिएको कुरा । राजु पनि पार्टीकै कब्जामा उतै छ । पण्डितबा र आमै छोरोको जिउँदो खबरले सन्तोषको सास फेरेका मात्र के थिए । उता बन्दुकको चर्को आवाजले गाउँ फेरि स्तब्ध भयो ।
अघि अघि चौध पन्ध्र बर्षका केहि गह्रुङ्गो भारी झुण्ड्याएका युवा । पछिपछि पँखेटा झरेझैँ गरुङो पाइला सारेकि चमेली । सिकुवामा बिसाए उनीहरुले भारी – जस भित्र राजुको लास थियो आँगनको पल्लो छेउमा पुरानो अनुहारमा उभिएकी थिई – चमेली । आएका मध्येको एकले चमेली तिर इसारा गर्दै बोल्यो –‘यो तिमीहरुकी बुहारी …. स्वीकार्न मानेन उसले … पार्टीको कारवाहीमा पर्यो । चमेली गर्भवती छ ख्याल राख्नु होला ।उनिहरुले चमेलिलाइ लाल सलामिको अभिबादन गरि बाटो लागे – चमेलि लास सग बेरिएको भाबनाको प्रेम सगँ पटक पटक समाजिक प्रश्नले उधारिन्थि ? कता ? कहिले ? कसरि ? को को ? प्रश्नको पहाडले छिचिएपछि मौनपिडामा चिरिन्थि उ । ‘ तुफान चलिरह्यो सारा परिवारको मर्यादा उडाएर । मडारिएको आँधीबेरी न्युज पेपरहरुमा छरियो ।
‘चमेलीको गर्भले न्याय पायो’ । ‘क्रान्तिकारीको न्याय चमेली लाई’…। समाजका युवा युवती डराए – खासखुस कुरा गर्न, सँगै हिँडन, खेल्न, बोल्न, मेलापातमा दोहोरी गाउन । तर प्रचन्डपथले गरेको यो आमुल न्याय पद्दति धेरै दिन टिकेन । चमेलीको शरीरमा गर्भ थिएन ।
कथित दलित चमेली सामाजिक छुल्याहाहरुको बहकाउ र अपरिपक्व राजनीतिको शिकार मात्र बनेकी थिई । राजु त एउटा प्रतिनिधी पात्र मात्र थियो । चमेली- एउटा नारी माथिको ज्यादति –उसको पोखिएको पारिवारिक मर्यादा । उदाङ्गो पारिएको बालप्रेम । सभाहरुमा छलफलको विषय पनि चमेली ।
एउटा दलले उसलाई केही रकम दिलाएर स्वतन्त्र गर्ने रे । अर्कोले उसको यौनको मूल्य निर्धारण गर्यो । अर्को दल चमेलीको मानव अधिकारको रक्षा गरिदिने भयो । समाज पनि चमेलीको भोली सम्झिएर गरिखानलाई रकम जोहो गरिदिने भयो । आँफुमाथिको चर्को बहस र मोल बढाबढले मानसिक र शाररिक शिथिल भइसकेकी चमेलीले पैसाको मुठो थाप्दै कागजमा सही गरि दिई । अब उ आजाद थिई ।समाजले उसले पाउने न्याय र नारी अधिकार दिलाइदिन कतै कसर बाँकि राखेन ।
मैले चमेलीलाई नजिकबाट हेरेको पनि दुई बर्ष बितिसकेको थियो । चमेली जाने दिन मलाइ पनि बेस्सरि नरमाइलो लाग्यो ।अब कहाँ जानु,,,? चमेलिले पाएको न्यायमा कुनै तुक थिएन न थियो सम्मान,,,,,? यो माया भन्ने चीज पनि जतासुकै जोसुकैसँग टपक्क अडिन्छ । मेरा लागि चमेली त्यस्तै थिई । चमेली नभएपछि माथ्ला घरको जल्याङजुलुङ पनि शुन्य थियो ।
माथिल्लो बाटो बाट एकहुल युवा केटा केटी हतारिँदै झरे । बुढापाका पनि उतै एकोहोरिए । भीडले डाँडो भरिँदै थियो । बाबु रुँदै भन्दै थियो, ‘मैले त साहुका पैसा फर्काउन जा मात्र भनेको थिएँ’———- नोटहरु खरबारी र बनमाराका चेपहरुमा असरल्ल अल्झिएका थिए । म भीड उधिन्दै छेउमा पुगेँ उसरी नै बोलाएँ, ‘चमेली’,,,,,,,,,,????????? । गुरुङ गाउँको पखेरोले मेरो आवाज मैतिर फर्कायो । चमेलीले राति नै झुन्डिएर आत्महत्या गरिसकिछे ।।।।।।