सिड्नी (अस्ट्रेलिया) । अस्ट्रेलियाको अर्बन सिड्नीमा स्थापित श्री योगी नरहरिनाथ हिन्दु विद्यापीठको औपचारिक शुभारम्भ माघ शुक्ल पक्ष वसन्त पञ्चमी (सरस्वती पूजा) का अवसरमा, जनवरी २३, २०२६ (शुक्रबार) सम्पन्न भएको छ । सनातन धर्म–संस्कृतिप्रति श्रद्धा र भक्ति भाव जगाउँदै वैदिक विचारको अमृत ज्ञान संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यसहित विद्यापीठमा संस्कृत भाषाको अध्ययन प्रारम्भ गरिएको हो ।

विद्यापीठका अध्यक्ष नारायण शास्त्रीको अध्यक्षता तथा श्री सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक १००८ श्री जगन्नाचार्य स्वामी महाराजजीको प्रमुख आतिथ्यतामा शुभारम्भ कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा ग्राण्ड प्यालेसका प्रोप्राइटर, कुशल व्यवसायी तथा विद्यापीठका प्रमुख संरक्षक रणजीत शाह, साउथ इष्ट नेपाली कम्युनिटीका अध्यक्ष चतुर्भुज खरेल, महासचिव प्रकाश पौडेल, सदस्य अनुप निरौला, अर्बन पार्क नेपाली समाजकी अध्यक्ष देवी पाण्डे, अन्तर्राष्ट्रिय गायिका जेनिशा गौतम, विद्यापीठका उपाध्यक्ष रामहरी थापा, सदस्यहरू सहनशिला श्रेष्ठ, कुश शर्मा पौडेल, समाजसेवी सम्झना पन्थ र सूर्यप्रसाद रेग्मी लगायतको विशिष्ट उपस्थिति रहेको थियो ।
शुभारम्भ समारोहमा प्रमुख अतिथि १००८ स्वामी जगन्नाचार्य महाराजजीले दीप प्रज्वलन तथा ब्यानर वाचन गरी विद्यापीठको औपचारिक उद्घोष गर्नुभयो । साथै गुरुजनबाट स्वस्तिवाचन, अन्तर्राष्ट्रिय गायिका जेनिशा गौतम तथा बाल कलाकार अक्षिता तिमल्सिना र आयुस्था तिमल्सिनाद्वारा सरस्वती वन्दना प्रस्तुत गरिएको थियो । यस अवसरमा बालबालिकालाई अक्षर लेखन (विद्यारम्भ) पनि गराइएको थियो ।

शुभकामना मन्तव्यका क्रममा विशिष्ट अतिथि चतुर्भुज खरेलले हिन्दु विद्यापीठ भविष्यमा क्रमशः विश्वविद्यालयका रूपमा विकसित हुनेमा विश्वास व्यक्त गर्दै सबैको साथ–सहयोगका लागि आह्वान गर्नुभयो । यस्तै, विद्यापीठका प्रमुख संरक्षक रणजीत शाहले विद्यापीठको शुभारम्भप्रति सबैप्रति आभार व्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै तत्कालका लागि पठन–पाठनका लागि स्थान उपलब्ध गराउने जानकारी दिनुभयो ।
प्रमुख अतिथि १००८ स्वामी जगन्नाचार्य महाराजजीले संस्कृत भाषालाई १५३ भन्दा बढी भाषाको जननी भाषा भन्दै यसले विश्वका ५०० भन्दा बढी भाषामा प्रभाव पारेको उल्लेख गर्नुभयो । संस्कृत कुनै एक जाति, वर्ग वा भूगोलमा सीमित नभई विश्वव्यापी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिँदै, वैदिक विज्ञानको महत्व आधुनिक विज्ञानभन्दा पनि बढ्दै गएको चर्चा गर्नुभयो । हिमवतखण्ड नेपालबाट संस्कृतको उद्भव भएकाले नेपाल र नेपालीले यसको संरक्षण र प्रचार–प्रसारमा विशेष जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ थियो । अष्ट्रेलियामा रहेका नेपाली समुदायको सोच, लगनशीलता र प्रयासको प्रशंसा गर्दै उहाँले आशिर्वचन प्रदान गर्नुभयो ।
कार्यक्रममा विद्यापीठमा योगदान पु¥याउने चतुर्भुज खरेल, प्रकाश पौडेल र अनुप निरौलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष नारायण शास्त्रीले स्वागत मन्तव्य दिँदै हिन्दु संस्कृत विद्यापीठको औचित्यमाथि प्रकाश पार्नुभयो । पदाधिकारी रामहरी थापा, सहनशिला श्रेष्ठ र कुश पौडेलले अतिथि सत्कार तथा सम्मानको जिम्मेवारी सम्हालेका थिए । कार्यक्रमको सञ्चालन चेतना नेपाल तथा राष्ट्रिय हिन्दु एकता मञ्च नेपालका अध्यक्ष एवं विद्यापीठका संरक्षक सदस्य इन्द्रप्रसाद ओलीले गर्नुभएको थियो ।
शुभारम्भ कार्यक्रममा उल्लेखनीय संख्यामा श्रद्धालु, बुद्धिजीवी तथा नेपाली समुदायको उपस्थिति रहेको थियो ।


