Aamsanchar

राष्ट्रपति आज जापान जाँदै

Author Image
आइतवार, माघ १८, २०८२

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दै छन्।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आइतबार राति साढे ११ बजे जापान प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति पौडेलको जापान भ्रमण माघ १८ देखि २१ गतेसम्म ९चार दिन० हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय भेटवार्ता गर्ने कार्यक्रम तय छ।

राष्ट्रपति पौडेलसँग माघ २० गते नै टोकियोमा जापानका प्रधानमन्त्री ताकाइची सानेले भेटवार्ता गर्ने कार्यक्रम छ। यसअघि माघ १९ गते राष्ट्रपति पौडेल जापान सरकारका तर्फबाट जापानका विदेश राज्यमन्त्री होरी इवाओले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउन आयोजना गरेको विशेष समारोहमा सहभागी हुनेछन्।

माघ १९ गते नै जापानका विदेश राज्यमन्त्रीले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलसँग जापानी व्यापारिक समुदायले पनि भेटघाट गर्ने कार्यक्रम छ। राष्ट्रपति पौडेल टोकियोस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन्।

जापान भ्रमणमा राष्ट्रपतिका साथमा उनकी श्रीमती सविता पौडेल, उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन्। राष्ट्रपति पौडेलको माघ २१ काठमाडौं फर्कने कार्यक्रम छ।

Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर