Aamsanchar

उच्च प्रशोधित खानेकुराले क्यान्सर ‘सर्भाइभर्स’मा मृत्युको जोखिम उच्च बनाउने

Author Image
बिहिवार, माघ २२, २०८२

काठमाडौं –  इटालीमा गरिएको एक नयाँ अनुसन्धानले अल्ट्रा–प्रोसेस्ड खानेकुराले क्यान्सर ‘सर्भाइभर्स’मा मृत्युको जोखिम उच्च बनाउने देखाएको छ । क्यान्सर निको भएका वा क्यान्सरसँग जुधिरहेका बिरामीहरू, जसले अत्यधिक मात्रामा ‘अल्ट्रा–प्रोसेस्ड फुड्स’ उपभोग गर्छन्, उनीहरूमा अकाल मृत्युको जोखिम उल्लेखनीय रूपमा बढ्ने देखाएको छ ।

‘क्यान्सर एपिडिमियोलोजी, बायोमार्कर्स एन्ड प्रिभेन्सन’ जर्नलमा प्रकाशित यस शोधका अनुसार, सबैभन्दा बढी ‘अल्ट्रा–प्रोसेस्ड फुड्स’ खाने क्यान्सर सर्भाइभर्सहरूमा कुनै पनि कारणले हुने मृत्युको जोखिम ४८ प्रतिशत र क्यान्सरकै कारण हुने मृत्युको जोखिम ५९ प्रतिशत बढी पाइएको छ ।

यस अध्ययनमा आइसक्रिम, प्याकेटमा राखिएका पाउरोटी, नुनिलो स्न्याक्स, प्रशोधित मासु र चिनीयुक्त पेय पदार्थहरूलाई ‘अल्ट्रा–प्रोसेस्ड फुड्स’को श्रेणीमा राखिएको छ । यो अध्ययन दक्षिणी इटालीको मोलिजे क्षेत्रमा बसोबास गर्ने २४ हजार ३२५ व्यक्तिहरूमा सन् २००५ देखि २०२२ सम्म गरिएको थियो ।

तीमध्ये ८०२ जना क्यान्सर सर्भाइभर्सले आफ्नो खानपान सम्बन्धी विस्तृत जानकारी साझा गरेका थिए । अनुसन्धानकर्ताहरूका अनुसार अल्ट्रा–प्रोसेस्ड फुडमा प्रयोग गरिने एडिटिभ्स, प्रिजरभेटिभ्स (संरक्षक रसायन) र अत्यधिक प्रशोधन प्रक्रियाले शरीरको मेटाबोलिजम, आन्द्रामा हुने सूक्ष्म जीवाणु (माइक्रोबायोटा)र शरीरको आन्तरिक जलन (इन्फ्लेमेसन)लाई नकारात्मक असर पार्छ ।

अध्ययन टोलीले सहभागीहरूको बायोमार्कर्स जाँच गर्दा अत्यधिक यूपीएफ खानेहरूमा ‘इन्फ्लेमेसन’ ९सुन्निनु वा जलन०को स्तर र ‘रेस्टिङ हार्ट रेट’ (आराम गरिरहेको बेलाको मुटुको धड्कन) दुवै उच्च थिए । यही शारीरिक परिवर्तन नै क्यान्सर सर्भाइभर्समा मृत्युको जोखिम बढाउने सम्भावित मुख्य कारण हुनसक्ने शोधकर्ताहरूको निष्कर्ष छ । क्यान्सरडटओआरजीबाट ।

Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर