Aamsanchar

साइकलका पाङ्ग्रामा झापा : सयौँ सहभागीले एकैपटक गर्ने ‘घुमौँ झापा साइकलमा’ यात्रा

Author Image
सोमवार, फागुन ११, २०८२

बिर्तामोड । पूर्वको समथर भूभाग, हरियाली चिया बगान, सिमसार र धार्मिकस्थललाई एकै धागोमा उनेर झापालाई नयाँ ढंगले चिनाउने प्रयास स्वरूप ‘घुमौँ झापा साइकलमा’ नामक बहुदिवसीय साइकल यात्रा हुने भएको छ। झापा साइक्लिङ क्लबले आफ्नो स्थापनाको पहिलो ठूलो कार्यक्रमका रूपमा तीन दिनको यो अभियान आयोजना गर्न लागेको हो।

फागुन ३० देखि चैत २ गतेसम्म चल्ने यात्रामा करिब ५० साइकलयात्री र २० जना गाइड, मेकानिक तथा स्वयंसेवक सहभागी हुनेछन्। आयोजकका अनुसार कम्तीमा २० प्रतिशत महिला र २० प्रतिशत झापाबाहिरका सहभागी रहने गरी समावेशी स्वरूप दिइएको छ।

१२ पालिकाको एउटै घेरा

कार्यक्रमले जिल्लाका १२ स्थानीय तहलाई एउटै साइकल मार्गमा जोड्ने लक्ष्य राखेको छ। यात्राको पहिलो दिन करिब ६० किलोमिटर दूरी तय गर्दै
मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा गाउँपालिका, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिबारी हुँदै पुनः बिर्तामोडसम्मको परिक्रमा गरिनेछ।

यात्रा काँकरभिट्टा स्थित पर्यटन कार्यालयबाट सुरु भई बाहुनडाँगी, चिया बगान क्षेत्र, जलेश्वरधाम, सामुदायिक वन तथा जामुनखाडी सिमसार जस्ता प्राकृतिक र धार्मिक स्थल हुँदै दोमुखामा पुगेर पहिलो दिन टुंगिनेछ।

होचो स्थानदेखि जंगल मार्गसम्म

दोस्रो दिनको ८० किलोमिटर यात्रा अझै विविधतापूर्ण हुनेछ। दोमुखाबाट सुरु भई माईधार, चिल्लागढधाम, शिवगञ्ज, हुलाकी राजमार्ग हुँदै झापा बजार, राजगढ र जलथल जंगल पार गर्दै नेपालकै सबैभन्दा होचो स्थान मानिने कचनकवल पुगिनेछ। त्यसपछि बनियानी बजारमा विश्राम हुनेछ।

अन्तिम दिन : सांस्कृतिक र शहरी मार्ग

तेस्रो दिन बनियानीबाट किच्चकबध, भद्रपुर, हल्दिबारी हुँदै विराटपोखरी पार गर्दै पुनः बिर्तामोडमा पुगेर यात्रा सम्पन्न हुनेछ। करिब ५० किलोमिटरको यो चरणले ग्रामीण र शहरी दुवै भूभाग समेट्नेछ।

पर्यटन, स्वास्थ्य र स्थानीय अर्थतन्त्र

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य झापालाई साइकल पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नु, दिगो तथा शून्य–फोहोर पर्यटन प्रवद्र्धन गर्नु र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नु हो। साथै होटल, होमस्टे र स्थानीय भोजन व्यवसायलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।

सीमा क्षेत्र, धार्मिक स्थल, सिमसार तथा ग्रामीण बस्तीलाई एउटै मार्गमा जोड्दै झापाको प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचान उजागर गर्ने प्रयास पनि यस अभियानले गर्नेछ।

नयाँ शैलीको पर्यटन अभियान

एकै पटक ठूलो समूहले साइकलमा जिल्ला परिक्रमा गर्ने यस्तो कार्यक्रम झापामा दुर्लभ मानिन्छ। पर्यटन कार्यालय काँकरभिट्टा मुख्य प्रवर्तक रहेको यस यात्राले पूर्वी नेपालमा वातावरणमैत्री साहसिक पर्यटनको नयाँ अध्याय खोल्ने अपेक्षा गरिएको छ।

साइकलका पाङ्ग्राले सडक मात्रै होइन—झापाको पहिचान, सम्भावना र सामुदायिक गौरवलाई पनि अघि बढाउने विश्वास आयोजकहरूको छ।

Views: 76

प्रतिक्रिया (०)