Aamsanchar

झापा–२: मतपरिणामको इतिहास तोड्न सरिता प्रसाईंको प्रयास

Author Image
बुधवार, फागुन १३, २०८२

झापा–२ यसपटकको प्रतिनिधिसभा निर्वाचनमा चासोको केन्द्र बनेको छ। दुई पटक समानुपातिक सांसद भइसकेकी नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईं पहिलोपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेपछि यहाँको चुनावी समीकरण रोचक बनेको हो।

१० साउन २०२४ मा जन्मिएकी प्रसाईं विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन्। पञ्चायतकालमै नेपाल विद्यार्थी संघमा आबद्ध भएकी उनी पछि तरुण दलको केन्द्रीय सदस्य हुँदै पार्टीको केन्द्रीय तहसम्म पुगेकी थिइन्। २०७० सालमा दोस्रो संविधानसभाबाट समानुपातिक सांसद बनेर संसदीय यात्रा सुरु गरेकी प्रसाईं २०७४ मा राष्ट्रियसभा सदस्य भइन् र त्यही अवधिमा कांग्रेसको प्रमुख सचेतकको जिम्मेवारी सम्हालिन्।

उनी २०७४ सालमा कृषि राज्यमन्त्रीसमेत बनेकी थिइन्। १३औं र १४औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य बनेकी प्रसाईं २०७९ मा पुनः समानुपातिक सांसद चुनिएकी थिइन्। यसअघि प्रत्यक्ष निर्वाचनको अनुभव नभए पनि केन्द्रीय राजनीतिमा लामो संलग्नता र नेतृत्व तहसँगको पहुँच उनको मुख्य बलका रूपमा हेरिएको छ।

‘हेभिवेट’ भिडन्त

झापा–२ मा प्रसाईंको प्रतिस्पर्धा पूर्वसभामुख देवराज घिमिरे (नेकपा (एमाले)), पूर्वउपसभामुख इन्दिरा राना मगर (राष्ट्रिय स्वतन्त्र पार्टी), तथा भद्रप्रसाद नेपाल (राष्ट्रिय प्रजातन्त्र पार्टी)सँग हुँदैछ। साथै नेकपा (माओवादी केन्द्र)ले पनि आफ्ना उम्मेदवार उठाएको छ।

यस क्षेत्रमा १७ दलीय र ३ स्वतन्त्र गरी कूल २० जना उम्मेदवार मैदानमा छन्। अघिल्लो निर्वाचनको मतपरिणाम हेर्दा एमाले बलियो देखिन्छ। २०७९ को निर्वाचनमा देवराज घिमिरेले २८ हजार ७१६ मत ल्याएका थिए भने भद्रप्रसाद नेपाल २६ हजार ४५५ मतसहित दोस्रो स्थानमा थिए। समानुपातिकतर्फ पनि एमाले पहिलो, रास्वपा दोस्रो र कांग्रेस तेस्रो शक्तिका रूपमा देखिएको थियो।

अवसर र चुनौती

प्रसाईंका लागि यो निर्वाचन अवसर र चुनौती दुवै हो। केन्द्रीय राजनीतिक अनुभव, स्थिर र अनुशासित छवि तथा विशेष महाधिवेशनपछि पार्टी एकढिक्का भएको सन्देश उनको पक्षमा छ। तर प्रत्यक्ष निर्वाचनमा पहिलोपटक होमिएकाले अनुभवको अभाव र विगतमा कांग्रेसको कमजोर मतस्थिति चुनौती बनेको छ।

झापास्थित बुद्धशान्ति गाउँपालिकाकी स्थायी बासिन्दा प्रसाईं अविवाहित हुन्। जिल्ला संरचनामा लामो समय सक्रिय नभईकनै केन्द्रीय राजनीतिमा स्थापित भएकी नेतृका रूपमा उनको पहिचान छ।

चुनावी अभियानमा उनी विकास र परिणाममुखी राजनीति नै आफ्नो मुख्य एजेन्डा भएको बताउँछिन्। “हरेक घर, युवा र आम नागरिकले अनुभूति गर्ने काम आवश्यक छ। नाम वा हल्लाभन्दा काम गर्ने सोच र इमानदारी महत्वपूर्ण हुन्छ,” उनको भनाइ छ।

झापा–२ मा स्थापित नेतासँग पहिलोपटक प्रत्यक्ष भिडन्तमा उत्रिएकी प्रसाईंले आफ्नो राजनीतिक अनुभवलाई मतमा रूपान्तरण गर्न सक्छिन् कि सक्दिनन् भन्ने विषयले अहिले सबैको ध्यान खिचेको छ।

Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर