

काठमाडौंः-इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय भएको बताएका छन्।

हालै अमेरिकी र इजरायली आक्रमणबाट क्षतिग्रस्त भएको तेहरानस्थित एउटा विद्यालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उनले युद्ध अन्त्यका लागि इरानका पूर्वशर्तहरूका बारेमा टिप्पणी गर्दै यस्तो धारणा राखेका हुन्।
उनले इरानको कुटनीतिक संयन्त्रले सरकारको समर्थनमा कूटनीतिको बाटो पछ्याएको र युद्ध टार्न अन्तिम क्षणसम्म सक्दो प्रयास गरेको भएपनि अर्को पक्षले युद्ध शुरु गर्ने निर्णय गरेको दाबी गरे।

बाघेईले पश्चिम एशिया क्षेत्रमा युद्धको दायरा विस्तार हुनुभन्दा अगाडि नै अन्तर्राष्ट्रिय समुदायले समयमै उचित निर्णय लिनुपर्नेमा जोड दिदै केही अरब राष्ट्रहरूले अमेरिकासँग मिलेर इरान विरोधी गठबन्धन बनाउनसक्ने सम्भावनाको बारेमा सोधिएको प्रश्नमा तेहरानको सैद्धान्तिक नीति छिमेकीहरूसँग सुमधुर सम्बन्ध कायम राख्नु भएको स्पष्ट पारे ।
अमेरिकाविरुद्ध इरानका कारबाहीहरू कुनैपनि हालतमा क्षेत्रीय राष्ट्रहरूप्रतिको शत्रुताको संकेत नभएको प्रष्ट पार्दै बाघेईले इरानमाथि अन्यायपूर्ण र बिना कुनै कारण आक्रमण गरिएको बताउँदै आवश्यक कदम नचालेमा युद्धको ज्वाला जताततै फैलिने चेतावनी दिए।
गत शनिबार बिहान तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणमा सर्वोच्च नेता अली खामेनी, उनका परिवारका केही सदस्य, वरिष्ठ सैन्य कमाण्डरहरू र सर्वसाधारणको मृत्यु भएको थियो। यसको प्रतिक्रिया स्वरूप इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी विभिन्न चरणमा मिसाइल र ड्रोन आक्रमणहरू गरेको थियो।


