

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधसम्बन्धी मुद्दाको सुनुवाइ जारी छ। न्यायाधीश सपना मल्ल प्रधान,सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको इजलासमा सुनुवाइ भइरहेको हो। यसअघि माघ २२ गते उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो।

माओवादीका पूर्वलडाकु लेनिन विष्टले माओवादी जनयुद्धकालमा बाल सैन्यको रूपमा भर्ती गरी अयोग्य लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको जिकिर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
विष्टले सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र पछि बेवास्ता गरेको भन्दै मुद्दा दिएका थिए। रिटमा माओवादीका अध्यक्ष प्रचण्ड,पूर्वप्रधानमन्त्री भट्टराईसमेतलाई विपक्षी बनाइएको छ।

तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले आफूहरूलाई बाल सैन्यका रूपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरेको भन्दै रिट निवेदकहरूले तत्काल आफूहरूलाई बालसेनाको पहिचान दिई परिपूरण,क्षतिपूर्ति,न्यायलगायतका काम कारबाही तत्काल गर्नू गराउनू भनेर अन्तरिम आदेशको माग गरेका छन् ।
यसअघि दर्ता गर्न खोज्दा सर्वोच्च प्रशासनले जेठ १६ गते दरपिठ गरेको थियो। दरपिठविरुद्ध जेठ १८ गते दिइएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश डा।आनन्दमोहन भट्टराईको इजलासले दरपिठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो। उक्त आदेशपछि विष्टले सर्वोच्चमा रिट दर्ता गराएका थिए।


