Aamsanchar

कुवेत ट्रान्जिटमा रोकिएका ६९ नेपाली सडकमार्ग हुँदै गन्तव्यतर्फ प्रस्थान

Author Image
बिहिवार, फागुन २८, २०८२

काठमाडौं – कुवेत ट्रान्जिटमा रोकिएका ६९ जना नेपालीलाई सडकमार्ग हुँदै आफ्नो गन्तव्यतर्फ पठाइएको छ । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार विभिन्न मुलुक जाने क्रममा ट्रान्जिटका लागि कुवेत पुगेका उनीहरू केही समय त्यहीँ रोकिएका थिए ।

दूतावासले सम्बन्धित देशहरूसँग समन्वय गरी उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पठाउने व्यवस्था मिलाएको जनाएको छ । नेपाली राजदूतावास, साउदी अरेबियासँगको सहकार्यमा सडकमार्गबाट उनीहरूलाई पठाइएको हो ।

राजदूतावासका अनुसार यात्रुहरूलाई आवश्यक कागजात, यातायात व्यवस्थापन तथा सुरक्षा समन्वय मिलाएर सीमा नाकासम्म पुर्‍याइएको थियो । त्यसपछि उनीहरूलाई सम्बन्धित मुलुकतर्फ प्रस्थान गराइएको बताइएको छ ।

हाल मध्यपूर्व क्षेत्रमा देखिएको तनाव र उडान व्यवस्थामा आएको अवरोधका कारण कतिपय यात्रुहरू ट्रान्जिटमा रोकिएका छन् । यस्तो अवस्थामा नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन दूतावासले समन्वय र सहजीकरण गरिरहेको पनि जानकारी दिएको छ ।

दूतावासले ट्रान्जिट वा यात्रा क्रममा समस्या परेमा तत्काल दूतावाससँग सम्पर्क गर्न नेपाली नागरिकलाई अनुरोध गरेको छ । साथै यात्रा गर्दा आधिकारिक सूचनालाई मात्र विश्वास गर्न र आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

 

Views: 1

प्रतिक्रिया (०)

सम्बन्धित खबर