

काठमाडौं – नेपाल सरकारले कुवेत र कतारमा रहेका नेपालीलाई साउदी अरब हुँदै नेपाल फर्किन सकिने व्यवस्था मिलाएको छ । साउदीको हवाईमार्ग खुला नै रहेको अवस्थामा कुवेत र कतारबाट सडकमार्ग हुँदै साउदीसम्म जाने र त्यसपछि हवाई मार्ग हुँदै नेपाल फर्किने व्यवस्था मिलाइएको हो ।

इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण पश्चिम एसियाली देशहरू(मध्यपूर्व) मा रहेका नेपाली त्रसित अवस्थामा छन् । कुवेत र कतारमा रहेर समस्यामा परेका नेपालीको उद्धारका लागि साउदीको बाटो अघि सारिएको हो । कुवेत र कतारमा रहेका नेपाली दूतावासहरूले साउदीको पर्यटक भिसामार्फत नेपालीहरूलाई उद्धारको व्यवस्था मिलाएको हो । त्यसका लागि अनलाइन मार्फत साउदी अरबको भिसा लिन आह्वान गरिएको छ ।
कुवेतस्थित नेपाली दूतावासले कुवेतको रेसिडेन्सीरसिभिल आईडी भएकाहरूलाई नेपाल फर्किन चाहे साउदीसम्म सडक मार्गबाट जान सकिने व्यवस्था मिलाएको जनाएको छ । त्यसका लागि अनलाइन मार्फत ट्रान्जिट प्रयोजन गर्न भिसाका लागि सहजीकरण गर्ने दूतावासको भनाइ छ ।

अनलाइन मार्फत आवेदन दिन सकिने र भिसा प्राप्त भएपछि सडक मार्गबाट साउदी प्रवेश गरी साउदी विमानस्थल हुँदै नेपाल जान सकिने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।
त्यस्तै कतारस्थित नेपाली दूतावासले समेत कतारबाट सडकमार्ग हुँदा साउदी गएर साउदीे विमानस्थलबाट नेपाल जान सकिने सूचना जारी गरेको छ । अनलाइन मार्फत कतारको भिसा आवेदन दिन सकिन्छ ।
कतारको राजधानी दोहास्थित ताशिर साउदी भिसा केन्द्रमार्फत पर्यटक भिसा आवेदन दिनका लागि अपोइन्टमेन्ट बुक गरेर भिसा लिन अनुरोध गरेको छ । त्यसका लागि भिसा आवेदन शुल्क उक्त भिसा सेन्टरमै गएर बुझाउन समेत भनिएको छ ।
तर, दूतावासहरूको उक्त व्यवस्था तथा सूचनाबाट त्यहाँ रहेका नेपालीहरू आक्रोशित छन् ।
उनीहरूले नेपाल सरकारले उद्धार गर्नुपर्नेमा उद्धारका नाममा चर्को शुल्क असुल्ने काम गरेको आरोप लगाएका छन् ।
कुवेतमा काम गर्ने नेपालीको वास्तविकता नबुझी दूतावासले आफ्नो जिम्मेवारीबाट पन्छिन सूचना जारी गरेको आरोप लगाएका छन् । दूतावासको सूचना अनुसार कुवेतबाट नेपाल फर्किन ४ सय केडी (कुवेती दिनार) खर्च लाग्ने देखिएको छ । हाल कुवेतमा खान बस्नसमेत समस्या भइरहेका बेला उक्त रकम तिरेर नेपाल फर्किन सम्भव नभएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका हुन् ।
कुवेतमा रहेका विकास भट्टराईले खाने पैसा नभएका बेला ४ सय केडी तिरेर नेपाल जान नसकिने बताए । त्यस्तै सिर्जन कार्कीले गरिब जनताले विदेशमा गएर खाइनखाइ महिनामा २०/३० हजार कमाउने तर ८०/९० हजारको टिकट काटेर नेपाल जान नसकिने बताएका छन् । उनले उद्धारका नाममा लुट्ने प्रयास भइरहेको भन्दै आक्रोश व्यक्त गरे ।
‘विदेश जाँदा पनि पसिना बेचेर जानुपर्ने अनि साह्रो गाह्रो परेर स्वदेश फर्किन पनि ५/६ महिना कमाएको पैसा टिकटमा हाल्नुपर्ने अनि उद्धार रु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समय र परिस्थिति अनुसार मानवता राखेर फेरिनुस् र फेर्नुहोस् आफ्नो व्यवहार, उद्धार भन्ने अनि सकेसम्म लुट्ने रु बरु दलालहरूलाई घाटा हुन्छ विदेश बस्नेलाई विदेशमै मर्न दिनुहोस् ।’
त्यस्तै ज्ञानबहादुर तामाङले आफ्नो देशका नागरिकलाई सुझाव दिनु राम्रो भएको तर वास्तविकता पनि बुझ्नुपर्ने बताएका छन् । कुवेतमा काम गरेर जीवन धानिरहेका धेरै नेपाली दैनिक ज्यालादारी, कम तलब र ऋणको बोझमा रहेको अवस्थामा ‘साउदीको अनलाइन भिसा लिएर सडकमार्ग हुँदै साउदीको विमानस्थलबाट नेपाल जानुहोस्’ भन्ने सल्लाह कागजमा सजिलो देखिने तर व्यवहारमा धेरै गरिब श्रमिकका लागि सम्भव नरहेको उनले बताए ।
भिसा शुल्क, यातायात खर्च, सीमा पार गर्ने झन्झट, अनि साउदी पुगेपछि फेरि हवाई टिकटजस्ता विषयको खर्च धेरै श्रमिकले तिर्न नसक्ने उनको भनाइ छ । धेरै श्रमिक मजदुर महिनाको तलब नै समयमै नपाएर संघर्ष गरिरहेको अवस्थामा यस्तो गर्नुको अर्थ नरहेको उनको भनाइ छ ।
‘विदेशमा समस्या पर्दा नेपाली नागरिकका साथमा उभिनु राज्य र दूतावासको दायित्व हो, समाधान यस्तो हुनुपर्छ जसले वास्तवमै पीडित र कमजोर वर्गलाई राहत देओस् न कि उनीहरूलाई अझै खर्च र झन्झटको बाटो देखाओस्,’ उनले लेखेका छन् ।
गरिब श्रमिकले यो प्रक्रिया कसरी पूरा गर्ने र दूतावासले वैकल्पिक व्यवस्था, सहजीकरण वा राहतको कुनै योजना नबनाएको भन्दै उनले प्रश्न गरेका छन् ।
सूचना जारी गरेर पन्छिन खोज्नुभन्दा पनि पीडित नेपाली श्रमिकको वास्तविक अवस्था बुझेर ठोस पहल गर्न उनले अनुरोध गरे । विदेशमा रहेका नेपालीलाई अप्ठ्यारोमा सल्लाहमात्र नभई साथ र समाधान चाहिने उनको तर्क छ ।
नेपाल सरकारको निर्णयप्रति कतारमा रहेका नेपालीले समेत आपत्ति जनाउँदै आएका छन् । अहिलेको विषम परिस्थितिमा घर जान चाहेको तर दूतावासको उक्त सूचनाले झन् समस्यामा पारेको उनीहरूको भनाइ छ ।
खाडी तथा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकले उद्धारका नाममा एयरलाइन्स र भिसा प्रक्रियामा सर्वसाधारणले खर्च गर्न सक्ने अवस्था देखिँदैन । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) का सल्लाहकार कुलप्रसाद कार्कीले दूतावासहरू आफ्नो जिम्मेवारीबाट पन्छिन यस्तो खालको निर्णय गरिएको बताउँछन् । अहिले मान्छेले कमाएको पैसा ट्राभल एजेन्सी र सरकारको शुल्क तिर्दातिर्दै सकिने उनको भनाइ छ ।
मासिक ७०–८० केडी तलब हुने श्रमिकले ४ सय केडी तिरेर कसरी नेपाल आउन सक्छन् भन्ने उनको प्रश्न छ । ‘यस्तो अवस्थामा एउटा श्रमिकको ६ देखि १० महिनाको कमाइ त फर्कने प्रक्रियामा मात्रै सकिने भयो,’ कार्कीले भने ।
सरकारले सक्रिय भएर काम गर्न एजेन्सीहरूलाई बोलाएर छलफल गर्नुपर्ने र उद्धार गर्नुपर्ने नेपालीलाई सहजै उद्धार गर्नुपर्ने उनको भनाइ छ । सामान्य अवस्थामा कुवेत वा साउदीबाट फर्कन २०–३० हजार रुपैयाँ लाग्थ्यो, तर अहिले टिकटको मात्रै १ लाखभन्दा बढी र भिसा प्रक्रियाको अर्को १ लाख गरी २ लाख खर्च हुने अवस्था छ ।
अहिले ती देशमा सुरक्षाभन्दा हवाईजहाजको टिकट नपाउनु र महँगो हुनु रहेको उनको भनाइ छ । त्यसका लागि नेपाल सरकारले नै सहजीकरण गरिदिनुपर्ने उनले बताए । ‘मान्छेहरू मानसिक तनावमा छन्, उनीहरूको रोजगारी गुम्ने डर छ र भएको पैसा पनि सकिँदैछ,’ कार्कीले भने, ‘यो विषयलाई सरकारले गम्भीरता साथ लिनुपर्छ ।’


