

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रिमण्डलमा कसलाई पठाउने र नपठाउने भन्ने अहिलेसम्म कुनै निर्णय नगरिएको बताएका छन् ।

पार्टीका सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई बुधबार सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । ‘तपाईँहरूमध्ये यो हलमा भएको कोही न कोही साथीहरू मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ । तर, कृपया मन्त्री बनाइदिनुस् भनेर या मिडिया ट्रायलमा म फलानो मन्त्री भनेर त्यस्तो चिजलाई बन्द गर्नुहोला’, लामिछानेले भने, ‘किनभने अहिलेसम्म केही पनि थाहा छैन । पार्टीले क्याबिनेटमा क–कसलाई पठाउँछ भन्ने निर्णय आज यतिखेर तपाईँसँग उभिँदासम्म हामीले गरेका छैनौँ ।’
उनले पार्टीले सही निर्णय गर्ने मन्त्रीका लागि कसैले पनि कसैलाई भनिरहनु नपर्ने बताए । ‘हामीलाई तपाईँहरुको विज्ञता, क्षमता थाहा छ । पार्टीले देखिएका र छेकिएका साथीहरूलाई पनि हेर्छ’,सभापति लामिछानेको भनाइ छ । त्यसक्रममा उनले आफू लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्ध रहेको पनि बताए । ‘म लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्छु। वर्तमान व्यवस्था र संविधानप्रति प्रतिबद्ध छु,’ उनले भने, ‘शासकीय स्वरूपमा समयअनुसार केही सुधार आवश्यक छ भन्ने हाम्रो बुझाइ हो ।’ उनले वर्तमान व्यवस्था, परिवर्तन र संविधानप्रति प्रतिबद्धता नडगमगाएको र पछि पनि नडगमगिने बताए।



