Aamsanchar

काठमाण्डौको ‘लाइफलाइन’ मानिने सडकमा ४३ ठाउँ पहिरोको जोखिम

Author Image
बुधवार, चैत ४, २०८२

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा रहेका छन् । सडक डिभिजन कार्यालय भरतपुरको अध्ययनअनुसार ८ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा छन् ।

उच्च जोखिम भनिएकामध्ये तुइन खोला अति उच्च जोखिममा रहेको छ । कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली र नाम्सी खोला उच्च जोखिममा छन् । यस्तै तुइन खोलाबाट चिसेन्जीको बीचको भाग, चार किलोको दुई ठाउँ, मौरी खोला र सेती दोभान पहिरोको उच्च जोखिममा रहेका उहाँले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख नारायण लामिछानेकाअनुसार तुइन, काली र नाम्सी खोलामा पहिरो रोकथामका लागि खरिद गुरुयोजना स्वीकृतिका लागि सडक विभागमा पठाइसकिएको छ । ती ठाउँमा विपद् बजेटबाट विनियोजित २५ करोड रुपैयाँ र अन्य जोखिम क्षेत्रमा २० करोड रुपैयाँबाट आउँदो वर्षाअघि नै पहिरो रोकथाम तथा न्यूनीकरणका काम गरिने उहाँले जानकारी दिनुभयो ।

सडक विस्तारका क्रममा भित्तो काटिएका र नयाँ ठाउँमा वर्षायाममा लेदोसहितको पहिरो खस्ने गरेको छ । दैनिक १० हजारभन्दा धेरै गाडी गुड्ने यो सडक काठमाण्डौका लागि ‘लाइफलाइन’ मानिन्छ ।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर