

अर्घाखाँची –अर्घाखाँचीमा वन डढेलोको जोखिमलाई न्यूनीकरण गर्न ड्रोन अनुगमन सुरु गरिने भएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत नियन्त्रण र पूर्वतयारीलाई थप सुदृढ बनाउने उद्देश्यले ड्रोन अनुगमन सुरु गर्न लागिएको हो ।

वन क्षेत्रमा हुने सम्भावित आगलागीको समयमै पहिचान, क्षतिको यथार्थ मूल्यांकन तथा आगो लागेपछि त्यसको स्रोत पहिचान गर्न पनि ड्रोनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा सम्बन्धित निकायको छ ।
विशेषगरी, आगलागी कसले र कसरी गर्यो भन्ने विषयमा तथ्य संकलन गर्न ड्रोन प्रविधि प्रभावकारी हुने विश्वास गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी केशर खड्काले बताए ।

जिल्ला वन क्षेत्र समन्वय समितिको हालै बसेको बैठकले वन डढेलो नियन्त्रण, वन संरक्षण तथा समन्वयका विभिन्न पक्षमा महत्वपूर्ण निर्णय गर्दै यस्तो कदम अघि बढाएको छ ।
वन डढेलो जोखिम क्षेत्रहरूको नियमित अनुगमन गर्न ड्रोन प्रयोग गर्ने निर्णय गरेको छ । डिभिजन वन कार्यालयले यस प्रयोजनका लागि क्याटागोरी ‘बि’ को ड्रोन व्यवस्थापन गरी प्रयोगमा ल्याउने तयारी पूरा गरिसकेको जनाएको छ ।
ड्रोनको नियमित सञ्चालन र व्यवस्थापनका लागि डढेलो फोकल पर्सन केशब खड्कासहितको विशेष टोली गठन गरिएको छ । उक्त टोलीलाई आवश्यक प्राविधिक तथा व्यवस्थापकीय पृष्ठपोषण प्रदान गरिने पनि निर्णय गरिएको छ । जसले कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
बैठकले वन डढेलो नियन्त्रणका लागि पूर्वतयारीलाई विशेष प्राथमिकतामा राख्दै जनचेतना अभिवृद्धि, स्थानीय तहसँग सहकार्य, तथा सुरक्षा निकायहरूसँग समन्वयलाई सुदृढ बनाउने निर्णय पनि गरेको छ । वन क्षेत्रमा हुने अवैध गतिविधिहरू नियन्त्रण गर्न तथा वन संरक्षणलाई थप व्यवस्थित बनाउन पनि विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
वन क्षेत्रसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरूलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक नीतिगत तथा व्यवहारिक सुधारका कदमहरू अघि बढाइने बैठकले निष्कर्ष निकालेको छ । प्रविधिको प्रयोगमार्फत वन व्यवस्थापनलाई आधुनिक र उत्तरदायी बनाउनेतर्फ यो निर्णय महत्वपूर्ण मानिएको छ ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना लगायत सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
सहभागीहरूले वन डढेलो नियन्त्रणमा सबै पक्षको समन्वय अपरिहार्य रहेकोमा जोड दिएका थिए ।


