Aamsanchar

पाथीभरा मन्दिरमा सङ्कलन भएको ६७ तोला सुन र ४३ केजी चाँदी प्रशोधन गर्न सुरु

Author Image
बिहिवार, चैत ५, २०८२

ताप्लेजुङ- ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन तथा चाँदी रिफाइन (प्रशोधन)गर्न सुरु गरिएको छ । दर्शनार्थीले पाथीभरामा चढाएको सुन तथा चाँदी प्रशोधनको कार्य बुधबारबाट सुरु गरेको हो ।

तीर्थयात्रीले मन्दिरमा चढाएको सुनचाँदी पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गर्न सुरु गरेको छ । सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेका अनुसार करिब ६७ तोला सुन र ४३ केजी चाँदी रिफाइन गर्न सुरु गरिएको हो ।

कार्यालयका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार २०८० पुस २५ गतेदेखि हालसम्म दर्शनार्थीले चढाएको सुन तथा चाँदी रिफाइन गर्न सुरु गरिएको छ । जिल्लाका सुनचाँदी व्यवसायीहरूको प्राविधिक सहयोगमा रिफाइन सुरु गरिएको समितिले जनाएको छ । रिफाइनको कार्य सम्पन्न हुन करिब एक साता लाग्ने बताइएको छ ।

यसअघि रिफाइन गरिएको एक सय ७८ तोला ८२ लाल सुन समितिले भण्डारण गरि राखेको छ । जुन अहिले लिलामीको प्रक्रियामा छ । चाँदी भने यसअघि नै लिलामी भइसकेको समितिले जनाएको छ । पछिल्लो समयमा रिफाइन गरिएको सुन तथा चाँदी समेत लिलाम गर्ने योजनामा समिति रहेको छ ।

Views: 1

प्रतिक्रिया (०)

सम्बन्धित खबर