

काठमाडौं – अघिल्लोपटक युवा तथा खेलकुद मन्त्रालयमा चार महिना बिताएका विराजभक्त श्रेष्ठ यसपटक शुक्रबार (चैत १३) शपथसँगै विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइपुगेका छन् ।

ऊर्जामा विराजको राजनीतिक यात्राको नयाँ र जटिल अध्यायको सुरुआत समेत भन्दा अत्युक्ति नहोला । ४४ वर्षीय श्रेष्ठ काठमाडौं–८ बाट लगातार दोस्रोपटक बलियो समर्थन पाउँदै सांसद भएका थिए । श्रेष्ठले अब देशको सबैभन्दा संवेदनशील र रणनीतिक क्षेत्रमध्ये एकको नेतृत्व सम्हाल्न पुगेका छन् ।
उनले ०७९ र ०८२ को संसदीय निर्वाचनमा सानदार जित हासिल गरेका थिए । ऊर्जा मन्त्रालयको कार्यसम्पादनमा उनको सफलताको मापक हुनेछ ।

श्रेष्ठको यात्रा परम्परागत राजनीतिभन्दा फरक ढंगले विकसित भएको छ । स्वर्गीय उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानबाट सुरु भएको उनको राजनीतिक यात्रा वाग्मती प्रदेशसभा सदस्य हुँदै संघीय संसद् र त्यसपछि युवा तथा खेलकुदमन्त्रीसम्म पुगिसकेको थियो ।
सार्वजनिक जीवनमा उनको छवि २०७२ सालको महाभूकम्पपछि उल्लेखनीय रूपमा बद्लिएको थियो । स्वयंसेवक टोलीको नेतृत्व गर्दै उनले राहत वितरणदेखि स्वास्थ्य शिविर सञ्चालनसम्म सक्रिय भूमिका खेले । जसले उनलाई ‘काम गर्ने युवा’को रूपमा स्थापित गर्यो । पछि ‘फोर्स नेपाल’मार्फत ‘वान ट्री–मेरो जिम्मेवारी’ जस्ता अभियानले उनलाई भुइँतहसँग जोड्यो, जसको प्रतिफल राजनीतिक पुँजीका रूपमा पनि देखियो ।
संघीय संसद्मा प्रवेश गरेपछि सुशासन र खेलकुद सुधारका एजेन्डामा उनको सक्रियता देखियो । र, छोटो कार्यकालका लागि युवा तथा खेलकुदमन्त्री हुँदा उनले सुधारका केही संकेतसमेत दिएका थिए ।


