झापा । गएराति आएको हावाहुरी र असिनापानीका कारण भद्रपुर नगरपालिका–३ सन्थाल बस्तीका केही घरहरूमा क्षति पुगेको छ ।
प्रहरी चौकी मेचिपारीका अनुसार प्राकृतिक विपत्तिबाट ४ घरधुरी प्रभावित भएका छन् भने करिब १ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बुधय मुर्मुको टिनको छानो र बेरा भएको एकतले घर हावाहुरीले उडाएको छ । साथै २० वटा कुखुराका चल्ला मर्दा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। कमल गणेशको टिनको छानोबेरा भएको एकतले घर पूर्ण रूपमा क्षति हुँदा करिब १५ हजार रुपैयाँ नोक्सानी भएको छ । दुखिया महत्तोको टिनको भान्सा घर पूर्ण रूपमा नष्ट हुँदा करिब ३५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । मिस्ति राजबंशीको एकतले घर पूर्ण रूपमा क्षति हुँदा करिब ३० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।

प्रहरीका अनुसार प्रभावित परिवारहरूको अवस्था बुझ्ने तथा थप राहतका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । त्यस्तै हल्दिबारी गाउँपालिकामा पनि केही घरहरुमा क्षती पुगेको समाचार प्राप्त छ ।


