

काठमाडौं – पछिल्ला दिन देशमा झरी परेजस्तो मौसम छ । पानी पर्ने र रोकिनेक्रम दिनहुँजसो भइरहेको छ । देशका धेरै भूभागमा निरन्तर बदली (बादल) छ । लगातार घाम लागेर पानी थामिएको अवस्था छैन । हाल प्रिमनसुन अवधि हो । फागुन १५ देखि जेठ १५ गते (मार्च–मे)सम्मको समयलाई प्रिमनसुन भनिन्छ । यो अवधिमा विशेष गरी क्षणिक वा छोटो समय वर्षाको सम्भावना हुन्छ । हावाहुरी, असिनापानी, मेघगर्जनरचट्याङ, तातो हावाको लहर समेत हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसपालि लामो समय वा लगातार वर्षा पनि भएको छ । अर्थात्, मनसुन अवधिको जस्तो मौसम देखिएको छ । भारी वर्षा हुँदा भेलबाढी समेत निम्तिएको छ । यो स्वाभाविक हो ? विगतमा पनि यस्तो भएको थियो ? प्रश्नमा विभागका मौसमविद् रोजन लामिछानेले भने, “यस्तो पनि हुन्थ्यो, नहुने होइन । तर, सधैँ धेरै समयको लागि हुँदैन थियो ।”
प्रिमनसुनमा पनि यसप्रकारको मौसमी गतिविधि हुन सक्ने उनले बताए । नेपालमा पूर्वी र पश्चिमी वायुको बढी प्रभाव हुने उनले जानकारी दिए ।

“यो स्वाभाविक नै हो, यो समयमा हुन्छ नै यस्तो कुराहरू । किनभने, नेपालमा पूर्वी र पश्चिमी वायुको नै प्रभाव हुने हो । कुनचाहिँ डोमिनेट (दब्ने) हुन्छ भन्ने कुराले असर गर्छ,” उनले भने ।
प्रिमनसुनमा झरी के कारणले हुन्छ ?
मनसुन अवधिमा विशेष गरी पूर्वी वायुको असर देखिन्छ । अरू समयमा पश्चिमी वायुको प्रभावले वर्षा हुने हुन्छ ।
विभिन्न मौसमी प्रणालीको प्रभावले प्रिमनसुनमा पनि झरी परेजस्तो हुन सक्ने उनले बताए । “पूर्वी वायुहरू, न्यूनचापीय प्रणालीहरूको पनि असर देखियो भने अलिकति झरी परेजस्तो खालको हुने, मनसुनको जस्तो हुने हुन्छ,” उनले भने, “विगतका वर्षमा पनि यस्तो हुन्थ्यो ।”
उनका अनुसार, हाल देशमा पश्चिमी वायुको प्रभाव छ । स्थानीय वायुको पनि प्रभाव छ । “योसँगसँगै नेपालको पूर्वी भूभागनजिक रहेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव छ,” उनले भने ।
पानी पार्ने मौसमी प्रणाली यसपालि सक्रियजस्तो देखिएको उनले बताए । सोही कारण प्रिमनसुनमा पनि लगातारजसो पानी परिरहेको उनले जानकारी दिए ।
“न्यूनचापीय प्रणालीहरू पनि विकसित भयो, त्यसको लागि फेभरेबल (अनुकूल) मौसम प्रणालीहरू भयो भनेचाहिँ पानी पर्ने गतिविधिहरू बढ्ने हो,” उनले भने, “कुनै वर्ष त्यो अवस्थाहरू कम हुनसक्छ, कुनै वर्ष बढी हुनसक्छ । यो वर्ष अलि एक्टिभ (सक्रिय)नै छ भन्नुपर्यो ।”
यो वर्ष विन्टर सिजनमा कम पानी परेको उनले बताए ।
दिनभरि आज बदली, वर्षाको सम्भावना भोलि बढी
देशको पूर्वी भूभागमा सोमबार (चैत १६) बिहानदेखि बदली छ । कोसी, वाग्मती र गण्डकी प्रदेशमा बादल लागिरहेको मौसमविद् लामिछानेले जानकारी दिए ।
“बिहानैदेखि पूर्वी क्षेत्रहरूमा – कोसी, वाग्मती, गण्डकी क्षेत्रहरूमा बादल लागिरहेको अवस्था थियो । र, थोरै ठाउँहरूमा छिटपुटरहल्का वर्षा पनि भइरहेको अवस्था हो,” उनले भने, “काठमाडौंमा पनि बिहान केही बेर वर्षा भयो ।” नेपालको पूर्वी भूभागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावले यस किसिमको मौसम भएको उनले बताए । पूर्वी भूभागमा यस दिन साँझसम्मै बादल लाग्ने सम्भावना रहेको उनले जानकारी दिए ।
“यो न्यूनचापीय क्षेत्रको आज प्रभाव नै पर्ने देखिन्छ । आज साँझसम्मै बादल–बादलैजस्तो देखिन्छ पूर्वी भूभागहरूमा र पानी पनि पर्न सक्ने सम्भावना छ,” उनले भने, “गण्डकीदेखि यता र मधेस प्रदेशको पनि एक–दुई ठाउँमा कतैकतै हुन सक्ने देखिन्छ ।”
पश्चिमी क्षेत्रमा पनि वर्षाको सम्भावना छ । “पश्चिमी क्षेत्रहरूमा पनि पहाडी भूभागमा सम्भावना छ । पश्चिमी भूभागमा चाहिँ पश्चिमी वायुका कारण दिउँसो–अपराह्नपछि बादलहरू बन्ने, त्यसपछि पानी पनि पर्न सक्ने सम्भावना छ,” उनले भने ।
यस दिनभरि नै बादल र हल्का वर्षाको सम्भावना उनले औँल्याए । काठमाडौंमा पनि मौसम यस्तै हुने उनले बताए । “आज बादल लागिरहने हुन्छ । कुनै बेला खुलेजस्तो पनि हुन्छ,” उनले भने, “काठमाडौंको लागि पनि यस्तै नै छ । काठमाडौंमा पनि बादल लाग्ने, पानी पर्ने कुनैकुनै समयमा, अझ विशेष गरी अपराह्न–साँझतिर सम्भावना देखिन्छ । पानीचाहिँ हल्का पर्ने हुन्छ ।”
पानी पर्ने सम्भावना मंगलबार (चैत १७) बढी छ । सोमबारको तुलनामा मंगलबार देशका धेरै स्थानमा र वर्षा बढ्ने उनले बताए ।
“पानी अलिकति बढ्ने हो । अलि बढी क्षेत्रमा पानी पर्ने भयो । भोलिचाहिँ अलि बढी मेघगर्जनरचट्याङसहित नै पानी पर्ने सम्भावना छ,” उनले भने, “मेघगर्जनरचट्याङ आज अलि कम हुन्छ ।”
मंगलबार विशेष गरी पश्चिमी र स्थानीय वायुको प्रभाव देखिने सम्भावना छ । न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव पर्ने उनले जानकारी दिए ।
“आज र भोलिलाई छ यो (वर्षा) सम्भावना । त्यसपछाडि अलिकति खुल्नेजस्तो देखिन्छ,” उनले भने, “अर्को हप्ताको लागि अहिले भन्न गाह्रै छ ।”
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले पनि मंगलबार वर्षाको सम्भावना बढी रहेको बताएका छन् । “मंगलबार त नेपालभरि मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
बुधबार (चैत १८)पहाडी भेगका केही ठाउँमा वर्षाको सम्भावना उनले औँल्याएका छन् । “बिहीबार र शुक्रबार (चैत १९–२०) मौसमले अलि विश्राम लिने देखिन्छ,” उनले भनेका छन्, “तर, आर्को हप्ता फेरि दैनिकजस्तो वर्षा छ ।”


