Aamsanchar

महासंघको स्थापना दिवसमा झापामा पत्रकारिताको शुद्धीकरण र सदृढीकरणको बहस, ज्येष्ठ पत्रकारलाई औषधोपचार खर्च प्रदान

Author Image
सोमवार, चैत १६, २०८२


काँकरभिट्टा- नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको सन्दर्भमा सोमबार झापाको काँकरभिट्टामा पत्रकारिताको शुद्धीकरण र सदृढीकरण विषयक अन्तरक्रिया तथा ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति वितरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र मेचीनगर नगरपालिकाको सहकार्यमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासंघका कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्काले गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि खड्का, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय महासचिव चन्द्र भण्डारी, कोशी प्रदेश समिति उपाध्यक्ष अम्बिका भण्डारीले शुभकामना व्यक्त गरेका थिए । त्यसक्रममा पत्रकारिताको शुद्धीकरण र सदृढीकरणका लागि ११ बुँदे ‘झापा संकल्प–पत्र २०८२’ पारित गरिएको छ ।
वक्ताहरुले पत्रकारिताको शुद्धीकरण र सुदृढीकरणका लागि आचारसंहिताको पूर्णपालना, पत्रकारको क्षमता विकास लगायतका विषयमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्लाका ६५ वर्ष माथिका १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति वितरण गरिएको छ । वार्षिक वृत्ति पाउने ज्येष्ठ पत्रकारहरुमा गोविन्द चन्द क्षेत्री, केशव आचार्य, चिन्तामणि दाहाल, चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लक्ष्मण ढकाल, शिरो सान्दाई, विष्णुकुमार भट्टराई, चुडामणि वशिष्ठ, लेखनाथ परदेशी, लीला बराल, गोपाल गिरी र लक्ष्मी लुइँटेल रहेका छन् ।
महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट ०८० सालदेखि ६५–७५ वर्ष उमेरसम्मका ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्तिस्वरुप १५ हजार र सो भन्दा माथिका ज्येष्ठ पत्रकारलाई वार्षिक २० हजार रकम औषधोपचार खर्च वापत प्रदान गरिँदै आएको छ । महासंघका सदस्य रहेका ज्येष्ठ पत्रकारलाई वार्षिक रुपमा उक्त रकम उपलब्ध गराइँदै आएको बताइएको छ । सोही कार्यक्रममा केही समय अघि हर्नियाको शल्यक्रिया गराएका ज्येष्ठ पत्रकार लक्ष्मी लुइँटेललाई २५ हजार रुपैयाँ उपचार खर्च समेत प्रदान गरिएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा विषय केन्द्रित अन्तरक्रिया गरिएको थियो । पूर्व अध्यक्ष मोहन काजीको संयोजकत्वमा गठित संकल्प पत्र तयारी समितिले प्रस्ताव गरेको ११ बुँदे संकल्प पत्र सहभागीको सुझावका आधारमा संशोधनसहित पारित गरिएको थियो । संकल्प पत्रमा पत्रकार आचारसंहिताको पूर्ण पालना, पत्रकारिताको स्वच्छता र व्यवसायीकरण, क्षमता विकास, जवाफदेहिता लगायतका विषय समेटिएको छ ।
उक्त समितिमा महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटा, अग्रज पत्रकार लोकराज ढकाल, महासंघका सल्लाहकार डिकेश लामा, उपाध्यक्ष विनिशा शर्मा र कोषाध्यक्ष मुक्ति पौडेल रहेका थिए ।
अन्तरक्रियामा महासंघ झापाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, गणेश पोखरेल, सल्लाहकार राजेन्द्र गौतम, प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियार, प्रेस युनियन झापाका सचिव तथा फनिज झापाका अध्यक्ष अर्जुन राजवंशी, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल लगायतले पत्रकारिता क्षेत्रको सुधारका लागि सुझावहरु राखेका थिए । पत्रकारहरु गंगन ढकाल, प्रविण अधिकारी, राजबाबु शंकर, युवराज आचार्य, सन्तोष आचार्य, विजय भट्टराई, अनिल ढुंगाना, शिशिर चम्लागाँई, सावित्रा दाहाल, उत्तम रिजाल, खगेन्द्र घिमिरे, देवेन्द्र प्रसाईं, उमाकान्त खनाल लगायतले विभिन्न समस्या तथा सुझावहरु राखेका थिए ।
अन्तरक्रियाको आचारसंहिता उपाध्यक्ष सुब्रत न्यौपानेले प्रस्तुत गरेका थिए । सचिव राजु पाठकले सञ्चालन गरेको कार्यक्रममा स्वागत कोषाध्यक्ष मुक्ति पौडेलले गरेका थिए । कार्यक्रम काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजना गरिएको थियो ।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर