Aamsanchar

साढे तीन महिनादेखि भद्रपुर भन्सार प्रमुखविहीन

Author Image
बिहिवार, चैत १९, २०८२

झापा –  तोकिएको लक्ष्यअनुसारको मासिक राजस्व उठाउन धौ–धौ परिरहेको भद्रपुर भन्सार कार्यालय लामो समयदेखि प्रमुखविहीन बनेको छ। गत मंसिर २९ गतेदेखि प्रमुख भन्सार अधिकृतविहीन बनेको भद्रपुर भन्सार कार्यालयमा राजस्व असुलीबाहेक अन्य दैनिकी कामकाज प्रभावित बनेको छ।

प्रमुख भन्सार अधिकृत अर्जुन सिटौलाको गत मंसिर २८ गते अनिवार्य अवकाश भएको थियो। भन्सार अधिकृत सिटौला अवकाश पाएको तीन महिना १९ दिन बितिसक्दा पनि भन्सार विभागले अझै पनि प्रमुख भन्सार अधिकृत पठाएको छैन। भन्सार विभागले तत्काल काम चलाउनका लागि निमित्त प्रमुख भन्सार अधिकृतको रूपमा सुब्बा प्रमोद गौतमलाई जिम्मेवारी दिएको रहेछ। सुब्बा गौतम मेची भन्सार कार्यालय काँकडभिट्टाबाट मंसिर १४ गते विभागको निर्णयबमोजिम सरुवा भएर भद्रपुर आएका हुन्।

भदौ २४ गतेको जेन—जी आन्दोलनको क्रममा आगजनी गरी ध्वस्त बनाइएको यस भन्सारमा प्रमुख भन्सार अधिकृतको लागि पटकपटक विभागसँग माग गरिसकेको बताउँदै निमित्त भन्सार प्रमुख गौतमले भने, ‘विभागले अझै पनि भन्सार प्रमुख पठाएको छैन, अबको १५ दिनभित्र पठाउने जानकारी प्राप्त भएको छ।’ केही कर्मचारी बढुवाको प्रक्रियामा रहेकोले बढुवा भएपछि त्यहीमध्येबाट कसैलाई पठाउने विभागबाट बुझिएको उनले बताए।

 

यता कर्मचारी स्रोतका अनुसार पहिला जस्तो भारतबाट लत्ताकपडा नआउँदा कोही पनि भन्सार अधिकृत भद्रपुर भन्सार आउन नमानेकोले करिब साढे तीन महिना बित्यो। अरू कति दिन प्रमुखविहीन हुने हो त्यसको पनि टुंगो लागि नसकेको उनको भनाइ छ। बालेन नेतृत्वको सरकार गठन भएसँगै अर्थ मन्त्रालयले चैत १६ गते ३० उपसचिवको सरुवा गर्दा १२ जनालाई भन्सार विभागअन्तर्गत खटाएको छ। भद्रपुर भन्सारको दरबन्दी अधिकृत रहेकोले उपसचिव तहको कर्मचारी नपरेको हो।

 

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर