Aamsanchar

पक्की घर छोडेर हिँडे मनोहराका सुकुम्वासी, दुई हजार प्रहरीको घेराभित्र १२ डोजर परिचालन

Author Image
आइतवार, वैशाख १३, २०८३

काठमाडौं – भक्तपुरको मनोहरा सुकुम्वासी बस्ती भत्काउन सुरु गरिएको छ । शनिबार (वैशाख १२)साँझ डोजर र प्रहरीमाथि ढुंगामुढा भएको थियो । आज (वैशाख १३) सोही बस्तीमा कडा सुरक्षा व्यवस्थाबीच डोजर चलाउन थालिएको छ ।

रातिको समयमा ढुंगामुढा प्रहार हुँदा भक्तपुरका डीएसपीसहित २२ सुरक्षाकर्मी घाइते भएका थिए । सरकारले तीन दिनअघि मात्रै उपत्यकाका सुकुम्वासी बस्तीलाई हटाउने निर्णय गर्दै बस्ती छोड्न माइकिङ गरेको थियो ।

शनिबार राति प्रहरीमाथि ढुंगामुढा भएपछि आज करिब १२ सयभन्दा बढी नेपाल प्रहरी, ६०० भन्दा बढी सशस्त्र प्रहरीको घेराभित्र १२ वटा डोजर चलिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

त्यस्तै, ‘साइट’मा तीन स्थानीय तहका ३०० बढी नगरप्रहरीले संरचना भत्काउने काम गरिरहेको छ । काठमाडौं महानगरपालिकाको नेतृत्वमा कागेश्वरी मनोहरा नगरपालिका, भक्तपुर नगरपालिकाभित्र पर्ने सुकुम्वासी बस्ती बस्ती हटाउने काम भइरहेको हो ।

काठमाडौं नगरप्रहरी प्रमुख एवं एसपी विष्णु जोशीका अनुसार, करिब दुई हजार बढी सुरक्षाकर्मीको घेराभित्र १२ वटा डोजरले पक्की घरहरू भत्काउने काम गरिरहेका छन् । “हिजो(शनिबार) राति केहीले अवरोध गरे । आज सम्भावित जोखिमलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । बाक्लो प्रहरी घेराभित्र १२ वटा डोजरले पक्की घरहरू भत्काइरहेका छन्,” उनले भने ।

मनोहराको सुकुम्वासी बस्तीमा मात्रै ७७७ घरटहरा निर्माण भएका थिए । जोशीका अनुसार, आज कुनै अवरोध र रोकावट छैन । “अधिकांश सुकुम्वासीहरूले पक्की घर छोडेर हिजै हिँडिसकेका छन् ।

Views: 22

प्रतिक्रिया (०)