

रौतहट – सर्लाही प्रशासनले निरन्तर स्वास्थ्य संस्थाको अनुगमनसहित कारवाही जारी राखेको छ । बिहीबार मात्र सदरमुकाम मलङ्गवामा अवैधरुपमा सञ्चालित ११ वटा स्वास्थ्य संस्था बन्द गराएको थियो। प्रशासनले सर्लाहीको बरहथवा बजार क्षेत्रमा आज थप पाँचवटा स्वास्थ्य संस्था बन्द गराएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे नेतृत्वको अनुगमन टोलीले दर्ता नै नरहेको पाइएपछि पाँचवटा स्वास्थ्य संस्था शिल गरेको हो । कुनै निकायमा दर्ता नै नरहेका आयुष्मान हेल्थ केयर, सगरमाथा ल्याब, युनिक अस्पताल, जनसेवा ल्याब र स्माइल सरोकार डेन्टल बन्द गराएको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ ।
अनुगमन टोलीले दर्ता रहे पनि मापदण्ड मिचेको पाइएपछि अन्य चारवटा स्वास्थ्य संस्थालाई समेत सचेत गराएको छ । सहायक प्रजिअ घिमिरे नेतृत्वको अनुगमन टोलीले यसअघि बिहीबार मात्र सदरमुकाम मलङ्गवामा अवैध रुपमा सञ्चालित ११ वटा स्वास्थ्य संस्था बन्द गराएको थियो भने अहिले बरहथवामा ५ वटा बन्द गराएको छ ।

सहायक प्रजिअ घिमिरेले जिल्लाभर सञ्चालित स्वस्थ संस्थाको अनुगमन जारी रहेको बताउँदै नियम विपरीत सञ्चालितलाई कारबाही,जरिवाना दुबै हुने बताए ।



