Aamsanchar

आफ्नै बाबुको हत्या गरी फरार रहेका व्यक्ति १८ वर्षपछि पक्राउ

Author Image
शुक्रवार, वैशाख १८, २०८३

रौतहट – आफ्नै बाबुको हत्या गरी फरार रहेका व्यक्ति १८ वर्षपछि पक्राउ परेका छ्न्। रौतहट प्रहरीले चितवनबाट उनलाई नियन्त्रणमा लिँदै वर्षौंदेखि रहस्यमा रहेको हृदयविदारक पारिवारिक हत्याकाण्ड सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै २०६४ साल जेठ २० गते गरुडा नगरपालिका–१ साबिक जयनगर–४ का ६८ वर्षीय विशेष महतो कोईरीको निर्ममतापूर्वक हत्या भएको घटनामा संलग्न उनका कान्छा छोरा राम बिलास महतो १८ वर्षपछि पक्राउ परेका हुन्। कर्तब्य ज्यान मुद्दामा फरार रहेका महतो त्यतिखेर ३१ वर्षका थिए भने हाल ४९ वर्षका पुगेका छ्न् ।

आर्थिक संकट,ऋणको चाप र जग्गा विवादबाट छुटकारा पाउने उद्देश्यले महोतोले योजनाबद्ध रूपमा आफ्नै बाबुको हत्या गरेका थिए। बाबु सुतिरहेको अवस्थामा हातखुट्टा बाँधी धारिलो हतियार प्रयोग गरी शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

हत्या पछि ऋण तिर्नु नपर्ने र निर्दोष व्यक्तिहरूलाई ज्यान मुद्दामा फसाउन सकिने योजनासहित यस्तो जघन्य अपराधको घटना घटाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बिष्णु प्रदीप बस्यालले जानकारी दिए ।

घटनापछि केही दिनमै परिवारसहित फरार भएका महतोलाई प्रहरीले वैशाख १६ गते चितवनबाट पक्राउ गरेको हो। हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी बस्यालले जानकारी दिए ।

घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न उठाएको छ । तराई मधेसमा हुने धेरै आपराधिक घट्नामा सम्पत्ती,आपसी कलह,दाइजो प्रथा,बिवाहेत्तर कारक रहेको बस्यालले बताए ।

 

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर