

उर्लाबारी – विद्यार्थी सङ्ख्या न्यून भएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुई वटा सामुदायिक विद्यालय बन्द गरेको छ । यस्तै तीन वटा विद्यालयलाई घटुवा गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवका अनुसार वडा नं। ४ को थानेश्वर आधारभूत विद्यालय र वडा नं.१ को सिद्धार्थ आधारभूत विद्यालय बन्द गरिएको छ । उहाँले वडा नं। ३ को लक्ष्मी आधारभूत विद्यालय, वडा नम्बर ४ को पञ्चकन्या आधारभूत विद्यालय र वडा नं। ६ को सुन्तोली आविबाट कक्षा ४ र ५ हटाइएको जानकारी दिनुभयो ।
थानेश्वर आधारभूत विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म जम्मा छ जना विद्यार्थी रहेका थिए । एक शिक्षक दरबन्दी र एक बालविकास शिक्षक रहेको उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीलाई सोही वडाको जनता आधारभूत विद्यालयमा समायोजन गरिएको छ । थानेश्वर आविमा कक्षा ५ सम्म स्वीकृति भए पनि ३ कक्षासम्म पढाइ भइरहेको थियो ।

त्यसै गरी नौ जना विद्यार्थी रहेको वडा नं. १ को सिद्धार्थ आधारभूत विद्यालय सोही वडाको श्री माध्यमिक विद्यालय होक्लाबारीमा समायोजन गरिएको छ । बालविकासदेखि कक्षा ५ सम्म पढाइ भइरहेको उक्त विद्यालयका तीन जना शिक्षक र दुई जना बालविकास कर्मचारीलाई पनि श्री माध्यमिक विद्यालय, होक्लाबारीमा समायोजन गरिएको छ ।
यस्तै वडा नं. ३ को लक्ष्मी आधारभूत विद्यालय र वडा नं. ४ स्थित पञ्चकन्या आविमा कक्षा ४ र ५ को शिक्षण व्यवस्था हटाइएको छ । लक्ष्मी आविमा दुई वटा कक्षमा जम्मा ६ जना विद्यार्थी थिए भने पञ्चकन्या आविका दुई वटा कक्षमा नौ जना विद्यार्थी थिए । लक्ष्मी आविका तीन जना शिक्षक र दुई जना बालविकास कर्मचारीमध्ये एक दरबन्दीसहित छ जना विद्यार्थीलाई सोही वडाको बाल माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।
यस्तै पञ्चकन्या आविको एक जना शिक्षक दरबन्दीसहित नौ जना विद्यार्थीलाई बाल माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।
त्यस्तै वडा नं.६ को दहिधापस्थित सुन्तोली आधारभूत विद्यालयबाट पनि कक्षा ४ र ५ अध्ययन हुने व्यवस्था हटाइएको छ । त्यहाँ कक्षा ४ मा तीन जना र कक्षा ५ मा दुई जना विद्यार्थी थिए । उक्त विद्यालयको एक शिक्षक दरबन्दी र पाँच जना विद्यार्थीलाई सोही वडाको पञ्चज्योति आविमा समायोजन गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव तथा शिक्षा शाखा अधिकृत चूडामणि रेग्मीसहितको शिक्षा समितिको २०८२ जेठ १३ गते बसेको बैठकले विद्यालय समायोजन तथा एकीकरण गर्ने निर्णय गरेको थियो । समितिले शैक्षिक सत्र २०८३ सालदेखि प्रत्येक कक्षामा कम्तीमा १० जना विद्यार्थी अनिवार्य हुनुपर्ने व्यवस्था गर्ने निर्णय गरेको छ । १० वर्षअघि पनि विद्यार्थी अभावकै कारण वडा नं। ४ को पिङडाँडास्थित तत्कालीन प्रगतिशील प्राथमिक विद्यालय र वडा नं। ७ को पच्चिसबिघेस्थित शान्तिदेवी प्राथमिक विद्यालय बन्द गरिएको थियो । कानेपोखरी गाउँपालिकामा २१ वटा सरकारी र २० वटा संस्थागत विद्यालय छन् ।



