Aamsanchar

एसइई नतिजा तयारी अन्तिम चरणमा

Author Image
मङ्गलवार, वैशाख २२, २०८३

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा यही वैशाखभित्रै प्रकाशित हुने भएको छ। परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले वैशाखभित्रै नतिजा प्रकाशित हुने गरी अहिले काम भइरहेको जानकारी दिए।

उनका अनुसार अहिले एसइई नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको छ। ‘नतिजा प्रकाशनको काम अब अन्तिम चरणमा पुगेको छ’, उनले  भने, ‘अबको एक साताभित्र नतिजा प्रकाशित सम्भव नहोला तर वैशाखभित्रै नतिजा भने प्रकाशित हुन्छ, धेरै काम सकिएको छ।’

वैशाख महिना सकिन ९ दिन बाँकी छ। उसो त बोर्डका अनुसार वैशाख अन्तिमतिर नतिजा प्रकाशित गर्ने गरी काम भइरहेको छ।

२०८२ को एसइई परीक्षा गत चैत १९ गतेदेखि शुरु भएर २९ गते सकिएको थियो।

सरकारले एक महिनाभित्रै एसइई नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएपछि बोर्डले ‘फाष्ट ट्रयाक’बाट छिटोछरितो नतिजा प्रकाशित गर्ने गरी अघि बढेको हो। यसअघिसम्म एसइई नतिजा प्रकाशन हुन करिब ३ महिना लाग्ने गरेको थियो तर यसपालिदेखि एक महिनामै नतिजा प्रकाशित हुने देखिएको छ।

यसरी सम्भव हुँदै महिना दिनमै नतिजा

परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का उपनियन्त्रक तारानाथ निरौलाका अनुसार यसअघिको एसईई मा उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रबाट सकिएको प्रत्येक दिन सम्बन्धित सुरक्षानिकायमा जम्मा गरेर राखिन्थ्यो।

त्यसपछि त्यहाँबाट परीक्षा सकिएको दुई दिनसम्म शिक्षा विकास तथा समन्वय एकाइमा उत्तरपुस्तिका जम्मा हुन्थो। त्यहाँ उत्तरपुस्तिका प्याकेजिङ गरिसकेपछि प्रदेशान्तर गरेर एउटा प्रदेशको अर्को प्रदेशमा पर्ने गरी पठाइन्थ्यो।

उनले भने, ‘प्रदेशमा उत्तरपुस्तिका पुग्न ३ देखि चार दिनसम्म लाग्थ्यो, त्यसपछि प्रदेश परीक्षाकेन्द्रले परीक्षकहरूलाई बोलाएर ओरेन्टेसन राख्थ्यो, अनि बल्ल उत्तरपुस्तिका परीक्षण हुन्थ्यो। यो परीक्षण गर्नमै १५ देखि २० दिन समय लाग्थ्यो, त्यसपछि उत्तरपुस्तिका र मार्कस्लिप यहाँ पनिकामा आएपछि इन्ट्री हुन्थ्यो। यही प्रक्रिया हुँदा लामो समय लाग्थ्यो।’

सरकारको निर्देशनअनुसार परीक्षा बोर्डले ‘माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका-२०८२’ जारी गरेसँगै नयाँ विकल्पबाट काम भएको हो।

छिटो नतिजा प्रकाशित गर्न बोर्डले प्रत्येक जिल्लामा रहेका परीक्षा केन्द्रहरू नै परीक्षण केन्द्रका रूपमा तोकियो। परीक्षा सकिएको एक सातामै त्यही केन्द्रबाट उत्तरपुस्तिका परीक्षणको काम सकियो। उत्तरपुस्तिका परीक्षणमा मात्रै २७ हजारभन्दा बढी शिक्षकहरू खटिएका थिए।

‘यसपालि जहाँ परीक्षा भए त्यही ठाउँमा उत्तरपुस्तिका परीक्षण गराइयो, पहिला परीक्षणमा सुरक्षानिकाय, त्यहाँबाट एकाइ हुँदै प्रदेश केन्द्रमा पठाउँदा लगायत सबै प्रक्रिया सक्दा ३०-४० दिन लाग्थ्यो भने त्यही केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा पहिला लाग्ने त्यतिधेरै समय अहिले घट्यो। त्यही भएर छिटो नै परीक्षणको काम सकियो’, उपनियन्त्रक निरौलाले भने।

यही कारण महिना दिनमै नतिजा प्रकाशित गर्ने सम्भावना बढेको उनले जानकारी दिए। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का अनुसार यो वर्ष एसइई परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भए।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर