Aamsanchar

थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा रिहा

Author Image
सोमवार, वैशाख २८, २०८३

काठमाडौं  –  थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावत्रा जेलबाट पेरोलमा रिहा भएका छन्।

लामो समय अस्पताल बसेर कारागारको सजाय छल्न खोजेको भन्दै अदालतले आदेश दिएको आठ महिनापछि ७६ वर्षीय थाक्सिन समर्थकहरूको घुइँचोका बिच बाहिर आएका हुन्।

विगत २५ वर्षदेखि थाई राजनीतिमा हावी रहेका यी व्यवसायीको प्रभाव पछिल्लो समय उनको जेल बसाइ र फेब्रुअरीको चुनावमा आफ्नै दल फ्यु थाई पार्टीले व्यहोरेको ऐतिहासिक हारका कारण केही कमजोर बनेको छ।

बैङ्ककको क्लोङ प्रेम जेलबाट बाहिर निस्कने क्रममा सेतो रङको खुकुलो कमिज र छोटो कपालमा देखिएका थाक्सिनले छोरी एवं राजनीतिक उत्तराधिकारी पेतोङतार्न सिनावत्रासहित परिवारका सदस्यहरूलाई अँगालो हालेका थिए।

 

पेतोङतार्नलाई गत अगस्टमा थाक्सिन जेल जानुभन्दा १० दिनअघि मात्रै अदालतले प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थियो।

उनको स्वागतका लागि पार्टीको पहिचान मानिने रातो रङका लुगा लगाएर पुगेका सयौँ समर्थकहरू पुगेका थिए।

१५ वर्षको स्वेच्छिक निर्वासनपछि सन् २०२३ मा स्वदेश फर्केका थाक्सिनलाई सन् २००१ देखि २००६ सम्म प्रधानमन्त्री रहँदा शक्तिको दुरुपयोग र स्वार्थको द्वन्द्व सम्बन्धी मुद्दामा आठ वर्षको जेल सजाय सुनाइएको थियो। तर, जेलमा एक रात पनि नबिताई मुटु र छातीको समस्या देखाउँदै उनलाई अस्पतालको भीआइपी वार्डमा सारिएको थियो।

 

पछि राजाले उनको सजाय घटाएर एक वर्षमा झारिदिएका थिए । अस्पतालमा ६ महिना बिताएपछि उनी पेरोलमा छुटेका हुन्।

थाक्सिनको रिहाइले वर्तमान गठबन्धन सरकारमा कनिष्ठ साझेदार बनेको फ्यु थाई पार्टीलाई पुनर्जीवन दिन सक्ने राजनीतिक विश्लेषकको भनाइ छ।

सेप्टेम्बरसम्म सजायको अवधि नसकिँदासम्म थाक्सिनले विद्युतीय एङ्कल मनिटर लगाउनुपर्नेछ।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर