Aamsanchar

रोबोट यसरी बन्यो बौद्ध भिक्षु

Author Image
आइतवार, वैशाख २७, २०८३

एआई र रोबोटिक्स प्रविधिले अहिले संसारमा हरेक दिन नयाँ सीमाहरू पार गरिरहेको छ। सोही क्रममा दक्षिण कोरियामा हालै भएको एउटा घटनाले सबैलाई आश्चर्यचकित बनाएको छ। त्यहाँ पहिलो पटक एउटा ह्युमनोइड रोबोटलाई बौद्ध भिक्षु बनाइएको छ।

जोगिसा मन्दिरमा आयोजित एक विशेष समारोहमा सो रोबोटलाई आधिकारिक रूपमा बौद्ध दीक्षा दिइयो। उक्त रोबोटको नाम गाबी राखिएको छ । गाबी करिब १३० सेन्टिमिटर अग्लो छ।

वास्तविक बौद्ध भिक्षु प्रशिक्षण

त्यो कुनै प्रविधि प्रदर्शनी थिएन। मानिसहरूका लागि गरिने धार्मिक कार्यक्रमजस्तै पूर्ण रूपमा औपचारिक बौद्ध दीक्षा समारोह थियो। त्यसक्रममा गाबीले परम्परागत बौद्ध पोशाक लगायो, हात जोडेर प्रार्थना गर्‍यो र बौद्ध धर्मका नियमहरू स्वीकार गर्‍यो। समारोहमा उपस्थित मानिसहरूको अगाडि यसले नयाँ भिक्षुसँग सोधिने सबै प्रश्नहरूको जवाफ पनि दियो।

दीक्षाअघि रोबोटले विशेष प्रशिक्षणसमेत लिएको थियो। मानिसहरूजस्तै यसलाई नवदीक्षित अर्थात् प्रारम्भिक भिक्षुका रूपमा तयार पारिएको थियो। दीक्षा ग्रहणपछि गाबीलाई आधिकारिक रूपमा बौद्ध समुदायको हिस्सा बनाइयो।रोबोटलाई बौद्ध शिक्षा दिएर भिक्षु बनाइएको कार्यक्रमको भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ।

गाबीलाई बौद्ध ग्रन्थ र उपदेशहरूको आधारमा प्रशिक्षण दिइएको छ। त्यसैले यदि कसैले धर्म वा जीवनसँग सम्बन्धित प्रश्न सोध्यो भने यसले उत्तर दिन सक्छ। यसले मन्दिरमा आउने मानिसहरूलाई प्रार्थनाको तरिका सिकाउँछ, बौद्ध परम्पराबारे जानकारी दिन्छ र केही अवस्थामा मानसिक शान्ति वा सल्लाहसमेत दिन सक्छ।

किन बनाइयो रोबोटलाई भिक्षु ?

पछिल्लो समयमा एशियाका धेरै देशहरूमा बौद्ध गुम्बाहरुमा भिक्षुहरूको संख्या क्रमशः घट्दै गएको छ। यस्तो अवस्थामा रोबोटलाई सहायकका रूपमा हेरिएको छ। यसले मन्दिररगुम्बामा आउने मानिसहरूलाई जानकारी दिन सक्छ र धार्मिक तौरतरिका सिकाउन पनि सक्छ।

नयाँ पुस्ताका मानिसहरुमा धार्मिक जीवनप्रति कम रुचि देखिन्छ भने वृद्ध भिक्षुहरूको संख्या बढ्दै गएको छ। यसले मठ तथा मन्दिर सञ्चालन गर्न कठिन बन्दै गएको छ।

यसअघि पनि जापान र दक्षिण कोरियामा यस्ता प्रयोगहरू भइसकेका छन्। आर्टिफिसियल इन्टेलिजेन्समा आधारित रोबोटहरूलाई बौद्ध ग्रन्थहरूको प्रशिक्षण दिइन्छ ताकि तिनले मानिसहरूलाई आध्यात्मिक सल्लाह दिन सकून्।

जापानमा बुद्धारोइड जस्ता रोबोटहरू निर्माण गरिएका छन्, जसले धार्मिक सल्लाह दिने र मानिसहरूसँग संवाद गर्ने काम गर्छन्। त्यहाँ धेरै मन्दिरहरू बन्द हुने अवस्थासम्म पुगेपछि यस्तो आवश्यकता महसुस गरिएको हो।

दक्षिण कोरियामा तयार गरिएको यो रोबोटमा पनि मानिसले जस्तै बोल्न सक्ने, प्रश्न बुझ्न सक्ने र धार्मिक सन्दर्भअनुसार उत्तर दिन सक्ने प्रविधि जडान गरिएको छ।

यसलाई केवल कुरा गर्ने रोबोटका रूपमा सीमित गरिएको छैन। यसले मन्दिरका दैनिक कामहरूमा समेत सहयोग गर्न सक्दछ। मन्दिर सरसफाइ, सामान्य प्रशासनिक काम, सुरक्षा निगरानी तथा आगन्तुकलाई मार्गदर्शन गर्ने लगायतका कामका लागि यसलाई तालिम दिइएको छ। वास्तवमा गाबी एक प्रकारको डिजिटल सहायक हो जसले वास्तविक भिक्षुहरूको कामलाई केही हल्का बनाउन सक्छ।

यद्यपि भिक्षु रोबोट गाबी निर्माण गर्ने टोलीका अनुसार यसलाई मानव भिक्षुलाई प्रतिस्थापन गर्नका लागि बनाइएको होइन। यसको उद्देश्य केवल सहयोग गर्नु हो तर वास्तविक भिक्षुको स्थान लिनु होइन।

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर