
धनगढी – अदालतले गायक तथा कलाकार रवि ओडको श्रीमतीसँग सम्बन्धविच्छेद नहुने फैसला सुनाएको छ । जिल्ला अदालत कञ्चनपुरले दायर गरेको सम्बन्धविच्छेद सम्बन्धी मुद्दाको सुनवाई गर्दै दाबी नपुग्ने फैसला सुनाएको हो । न्यायाधीश सूर्यप्रसाद भण्डारीको एकल इजलासले रवि र उनकी श्रीमतीको सम्बन्धविच्छेदको दाबी नपुग्ने फैसला सुुनाएको जिल्ला अदालतले जनाएको छ । अदालतका शाखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले रविको मुद्दामा न्यायाधीश भण्डारीको इजलासले सम्बन्धविच्छेद नहुने फैसला सुनाएको जानकारी दिए ।
उनले फैसलाको पूर्ण पाठ आउन भने समय लाग्ने बताए । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बसोबास गर्दै आएका ओडकी श्रीमतीले उनीविरुद्ध यसअघि जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन् । सो मुद्दामा भने अदालतले रविको पक्षमा फैसला गरेको थियो । ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले २० चैत २०८० मा इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।
सुरुमा ५ लाख रुपैयाँ धरौटीमा छुटेका रविलाई २०८१ को असारतिर अदालतले सफाई दिएको थियो । गायक ओड टिभी रियालिटी शो ‘नेपाल आइडल’ सिजन-२ का विजेता भएका थिए ।



