
काठमाडौँ – क्यान्सर उपचारमा अत्यावश्यक ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ देशभर अभाव भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित निकायसँग छलफल अघि बढाएको छ।
अभाव भएका जीवनरक्षक औषधिको आपूर्तिका लागि स्वास्थ्य सचिव डा.विकास देवकोटाले औषधि व्यवस्था विभाग र औषधि आयातकर्ता संघका प्रतिनिधिसँग संयुक्तरूपमा छलफल गरिरहेका हुन्।
केही दिन देखि किमोथेरापीमा प्रयोग हुने अत्यावश्यक औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’को चरम अभाव भएको भन्दै उपचारमा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरूले तत्काल यी औषधि आपूर्ति नभए बिरामीलाई घर फर्काउनु पर्ने बाध्यता रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए।

बिहीबारको प्रतिनिसभा बैठकमा केही सांसदहरुले क्यान्सरको उपचारको लागि अत्यावश्यक मानिने यी दुई औषधिको अभाव र आपूर्तिको लागि सरकारको ध्यानाकर्षण गरेका थिए। यससँगै स्वास्थ्य सचिव डा।विकास देवकोटाले विशेष पहल गर्दै औषधि आपूर्तिका लागि छलफल तीव्र बनाएका हुन्।
सचिव देवकोटाले उनले नीतिगत अप्ठ्यारा फुकाएर अघि बढ्नुपर्ने अवस्था भए पनि विकल्प खुला राखेर छलफल भइरहेको बताए।
स्वास्थ्य सचिव डा देवकोटाले भने ‘’कार्बोप्लाटिनु र ‘सिस्प्लाटिनु नामक औषधिको अभावको विषयमा हामी गम्भीर छौँ। त्यसैले औषधि व्यवस्था विभागलाई के कस्ता समस्या छन्, कसरी समाधान हुन्छ भनेर उपाय खोज्नु भनेको छु’, उनले भने, ‘उहाँहरूले विकल्प दिएपछि मन्त्रालयले आवश्यक कदम चाल्छ। यो विषयमा आज पनि छलफल गर्दैछु सम्भवतस् छिट्टै निकास निस्केर औषधि सहज हुन्छ।
सरकारले मूल्य तोकेका ९८ प्रकारका औषधिहको सूचीमा यी औषधि पनि पर्छ। तर लामो समय देखि मूल्य समायोजन नहुँदा आयात गर्न नसकेको औषधि व्यवसायीले बताउँदै आएका छन् ।
विशेषगरी भारतबाट आयत हुने यी औषधिको ०७२ सालमा औषधि स्वास्थ्य मन्त्रालयको नेतृत्वमा औषधि व्यवस्था विभागले मूल्य समायोजन गरेको थियो। त्यसयता भारत सरकारले ५/७ पटकसम्म मूल्य बढाइसकेको छ। नेपालमा भने हालसम्म बढेको मूल्य अनुसार नेपालमा यी औषधिको सरकारले समयमै मूल्य समायोजन नगर्दा आयातकर्ताहरूले ल्याउन नसकेको बताइएको छ।
कार्बोप्लाटिनु र ‘सिस्प्लाटिन’ औषधि विशेष गरी फोक्सोको क्यान्सर, अण्डकोष, अण्डाशय, मूत्राशय र मिर्गौलाको क्यान्सरको उपचारमा प्रयोग गरिन्छ। यी दुई औषधि प्रायस् अन्य क्यान्सर औषधिसँग मिलाएर प्रयोग गरिन्छ जसले गर्दा यी प्रकारका क्यान्सरकार बिरामीका लागि यी औषधि अत्यावश्यक औषधि हुन्।
क्यान्सर उपचारमा केही दिन ढिला गरियो भने क्यान्सरका कोषिकाहरू शरीरमा फैलने जोखिम हुने हुँदा चिकित्सक कुनै पनि क्यान्सरको उपचारमा ढिलाइ गर्दैनन्। त्यसैले क्यान्सरको उपचारमा आवश्यक पर्ने यी औषधि बजारमा नहुँदा क्यान्सर विशेषज्ञहरूले नै सरकारसँग यी औषधि द्रुतमार्गबाट उपलब्ध गराउन माग गरिरहेका छन्।


