हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी पनि पहिचानको मुद्दासँग जोडिएको दल भएको चर्चा पुनः चुलिएको छ । पार्टीको आधिकारिक लेटरप्याडमै ‘कोशी प्रदेश’ को सट्टा ‘१ नं. प्रदेश’ उल्लेख गरिएको भेटिएपछि सामाजिक सञ्जालदेखि जनस्तरसम्म यस विषयले बहस सिर्जना गरेको हो ।
पहिचानवादी समूहहरूले कोशी प्रदेशको नामकरणको विरोध गर्दै ‘पहिचानसहितको नाम’ को माग गर्दै आएका छन् । यही सन्दर्भमा श्रम संस्कृति पार्टीले समेत आफ्नो आधिकारिक कागजातमा ‘१ नं. प्रदेश’ प्रयोग गरेपछि अन्य पहिचानवादी दलहरूसँग यसको वैचारिक निकटता रहेको टिप्पणी हुन थालेको छ ।
जनस्तरमा धेरैले हर्क साम्पाङको पार्टीलाई पनि पहिचान पक्षधर शक्तिका रूपमा बुझ्न थालेका छन् । यद्यपि पार्टीले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
कोशी प्रदेश नामकरणपछि प्रदेश १ मा लामो समय आन्दोलन, प्रदर्शन र राजनीतिक ध्रुवीकरण हुँदै आएको छ । यस्तो अवस्थामा श्रम संस्कृति पार्टीको दस्तावेजमा देखिएको शब्द प्रयोगलाई राजनीतिक संकेतका रूपमा हेरिएको छ ।




