
केन्या – केन्याको राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिम गिलगिलस्थित एक बोर्डिङ स्कुलमा भएको आगलागीमा १६ जना विद्यार्थीको मृत्यु छ । आगलागीबाट अन्य ७४ विद्यार्थी घाइते भएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको घटनास्थलमा उपस्थित एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । केन्या रेड क्रस र प्रहरीका अनुसार युटुमिशी गल्र्स स्कुलको होस्टेलमा विद्यार्थीहरू सुतिरहेका बेला बिहीबार बिहान सबेरै आगलागी सुरु भएको थियो ।
प्रहरीले अहिले उद्धार तथा खोजी कार्य जारी रहेको र आगलागीको कारण अझै यकिन हुन नसकेको जनाएको छ । केन्या रेड क्रसले आपतकालीन टोलीहरू घटनास्थलमा राहत तथा सहयोगमा खटिएको बताएको छ । प्रहरी कमाण्डर मसउद मुइनीले बाहिर भेला भएका अभिभावक र भीडलाई सम्बोधन गर्दै भने, ‘यो निकै दुःखद र पीडादायी अवस्था हो ।’
केन्याका बोर्डिङ स्कुलहरूमा आगलागीका घटनाहरू असामान्य छैनन् । पछिल्ला वर्षहरूमा यस्ता धेरै घातक घटना रिपोर्ट भएका छन् । होस्टेलहरूमा भीडभाड हुनु र सुरक्षा मापदण्डको पालना नगर्नु जस्ता कारणले ठूलो क्षति हुने गरेको बताइन्छ । प्रहरीका अनुसार आगलागी करिब बिहान १ः०० बजे (स्थानीय समय, बुधबार १० सुरु भएको थियो र करिब २२० विद्यार्थी बस्ने डोरमिटरी ब्लकमा फैलिएको थियो । मुइनीले अनुसन्धान जारी रहेको बताए । विद्यालयलाई घेराबन्दी गरिएको छ र परिसरभित्र अभिभावकहरूलाई मात्र प्रवेश अनुमति दिइएको छ ।

पीडितमध्ये एक विद्यार्थीकी आफन्त वाम्बुई न्डेरितुले घटनास्थलमा पुग्दा अवस्था अस्तव्यस्त र त्रासपूर्ण रहेको बताइन् । ‘हामी विद्यालय पुग्दा लाइनमा बस्न भनियो । धेरै जना निकै चिन्तित थियौँ किनभने केही विद्यार्थीको मृत्यु भएको र अरू घाइते भई अस्पतालमा भएको खबर सुनेका थियौँ’, उनले भनिन् ।
उनका अनुसार केही विद्यार्थीहरू होस्टेलको माथिल्लो तलाबाट भाग्ने क्रममा झ्यालबाट हाम फाल्दा घाइते भएका थिए ।
‘माथिल्लो तलामा रहेका केही विद्यार्थीहरूले बाहिर निस्कन झ्यालबाट हाम फाल्नुपर्यो, त्यसैले उनीहरू घाइते भए’, उनले भनिन् । न्डेरितुले आफ्नो भान्जी आगलागीबाट बचेकी तर उनको खुट्टा भाँचिएको बताइन् । ‘मैले मेरी भान्जीलाई भेटें…. उनी ठीक छिन्…. तर उनको खुट्टा भाँचिएको छ’, उनले भनिन् ।


