
उदयपुर – कटारीमा खानेपानीको अभाव भएको छ । कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले एक हप्तादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो ।
कटारी नगरपालिका–३, ४ र ५ मा पानीको समस्या देखिएको हो । हिजो बिहान कटारी–४ डाँडाटोलका स्थानीय पानी अभाव भएको भन्दै रित्तो गाग्रीसहित पानी माग्न मेयरको घरमा पुगेपछि कटारी नगरपालिकाले हिजोदेखि दमकलबाट पानी वितरण शुरू गरेको छ ।
पानी नभएर शौचालय जान, दैनिक कार्य गर्न, खाना पकाउन तथा पिउन पनि समस्या हुन थालेपछि मेयरको घर पुगेको स्थानीय केदार रानामगरले बताउनुभयो । अटो रिक्सामार्फत खोलाबाट पानी ल्याएर अन्य काम चलाउनुपर्ने बाध्यता रहेको भन्दै पिउने पानीका लागि नगरले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

खानेपानी आयोजनाको मोटर (पानी तान्ने उपकरण) पटकपटक बिग्रिँदा समस्या आउने गरेको भन्दै विकल्पमा अर्को मोटर राख्नुपर्ने स्थानीयको माग छ । उपभोक्ता संस्थामा देखिएको प्राविधिक समस्या समाधान गरी नियमित पानी वितरण गर्न अझै समय लाग्ने भएपछि दमकलले पानी वितरण गर्न थालिएको मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभएको छ ।


