Aamsanchar

झापा गाउँमा बाढीले सबैभन्दा बढी क्षति

Author Image
बिहिवार, भदौ १, २०७४

बिर्तामोड।

गत शुक्रवार आएको बाढीका कारण सबैभन्दा बढी झापा गाउँपालिकामा मानवीय क्षति भएको छ । बाढीबाट अति प्रभावित क्षेत्रको रुपमा रहेको झापा गाउँपालिकामा बाढीका कारण सात जनाको मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभाग आपत्कालीन कार्य सञ्चालन केन्द्र झापाले जनाएको छ ।

बाढीका कारण झापाका ८ नगरपालिका र ७ गाउँपालिकामा १३ जनाको मृत्यु भएको छ । जिल्लाका सात नगरपालिका र ६ गाउँपालिकामा बाढीले प्रत्यक्ष असर पु¥याएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । बाढीमा परी २५ सय २४ परिवार प्रभावित भएका छन् भने २४ सय ४४ परिवार विस्थापित भएका थिए ।
बाढीबाट प्रभावित हुनेहरुका लागि जिल्लामा रहेका विभिन्न संघ–संस्थाले राहत प्रदान गर्ने क्रम जारी राखेका छन् । नेपाल रेडक्रस सोसाइटीसहित कारितास नेपाल, सहारा नेपाल, एलडब्लूएफ, झापा अष्ट्रेलिया समाज, कोरियन नेपाली समाज, रोटरी क्लब, लायन्स क्लब, उद्योग बाणिज्य संघ लगायतका संघ–संस्थाले खाद्यान्न र लत्ताकपडासहितका राहतका सामान वितरण गरिरहेका छन् भने गैरखाद्य राहत सामग्री नेपाल रेडक्रस सोसाइटीले प्रदान गरिरहेको छ ।
राहत सामग्री हालसम्म १ हजार सात सय ६० परिवारलाई वितरण गरिएको बताइएको छ भने बाढीबाट प्रभावित १ हजार ८ सय ५० परिवारलाई आवश्यकताका आधारमा गैरखाद्य सामग्री वितरण गरिएको बताइएको छ । उनीहरुलाई त्रिपाल, कम्बल, भाँडा, झुल, म्याट, हाइजिन किट, एक्वा ट्याव लगायतका सामग्री वितरण गरिएको छ ।

त्यस्तै विभिन्न संघ–संस्थाले एक हजार सात सय ६० परिवारलाई दाल, चामल, चिनी, नुन, तेल, चिउरा, निउटेला, आलु लगायतका सामग्री प्रदान गरेका छन् । उद्धारका क्रममा सुरक्षा निकायका पदाधिकारीले ४ सय ४० परिवारका दुई हजार दुई सय व्यक्तिलाई उद्धार गरी विद्यालय, सामुदायिक भवन लगायतका स्थानमा राखेको छ ।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर