Aamsanchar

प्रहरीको संरक्षणमा अवैध रुपमा गिटी–बालुवा निकासी

Author Image
आइतवार, भदौ ४, २०७४

[सागर गौतम]
खुदुनाबारी।

झापाको अर्जुनधारा–२स्थित बेल्टार गाँजाबारीमा पर्ने टाङ्टिङ खोलाको झोलुङ्गे पुल आसपासमा अवैधानिक रुपमा ढुङ्गा–बालछनकासी मौलाएको छ । यता कनकाई नगरपालिका–१ प्रजापति नाकाबाट समेत दैनिक दर्जनौं ट्याक्टरले अवैध रुपमा विरीङ खोलाको गिटी बालुवा निकासी गरिरहेका छन् ।
मौका छोपी ढुङ्गा–बालुवा उत्खनन् गर्ने तस्करहरुले रातारात निकासी गरिरहेको स्थानीयबासीले बताएका छन् । तस्करहरुलाई पक्षपोषण स्थानीय सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी निरीक्षक सोम श्रेष्ठले गरिरहेको रहस्य खुलेको छ । सशस्त्र प्रहरी नियम, कानूनको धज्जी उडाउँदै पैसाको लोभमा मौन रहेको पाइएको छ ।
सशस्त्र प्रहरी बलको भौतिक संरचना लगायत अनेकौं बहाना देखाउँदै निरीक्षक श्रेष्ठले मोटो रकम असुल्ने गरेको खुलासा भएको छ । स्थानीय खोला किनारमा तटबन्धन गर्ने नाममा लाखौं मूल्य बराबरको ढुङ्गा तस्करी भइरहेको श्रोतको दाबी छ । टाङ्टिङ खोलाको झोलुङ्गे पुल दक्षिण भागबाट बालुवा, ढुङ्गाको तस्करी हुने गरेको छ । अहिलेसम्म सो क्षेत्रमा ५ सय ट्याक्टर भन्दा बढी ढुङ्गा, बालुवा उत्खनन भइसकेको स्थानीयबासीले बताएका छन् ।

सो ठाउँबाट उत्खनन् गरेको ढुङ्गा, बालुवा स्थानीय निर्माण सामग्रीसहित तस्करहरुले स्थानीय सडकको आसपासमा भण्डारन गरेर राखेको पाइएको छ ।  सशस्त्र प्रहरी बल अर्जुनधारा–३का प्रहरी निरीक्षक श्रेष्ठले ढुङ्गा, बालुवा तस्करी भइरहेको क्षेत्रमा आफू पुग्दा तस्करहरु फरार हुने गरेको बताए । आफ्नो कुरा जोगाउ गर्दै श्रेष्ठले कसैसँग रकम नलिएको बताए ।
बलुवा, ढुङ्गा उत्खनन् गर्ने नगर, गाउँपालिकाले जिल्ला समन्वय समिति सँग अनुमति लिनुपर्ने समन्वय समितिका झापा सभापति सोम पोर्तेलले बताए । अवैधानिक रुपमा उत्खनन् गर्ने नमिल्ने समेत उनले बताए ।
अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले अहिलेको बाढीपहिरो विपत्तिमा तत्काल अवरोध रहेको सडकको मर्मत सम्भार, खोला किनारको तटबन्धन गर्न ढुङ्गा, बालुवा आवश्यक पर्दा नगरले व्यवस्थापन गर्नुपर्ने अवस्था आएको बताए । कानूनले रोक लगाएको हुनाले जथाभावी खोलाको ढुङ्गा, बालुबा उत्खनन् गर्ने छुट कसैलाई नभएको मेयर रानाले बताए ।
अर्जुनधारा–२ का वडाअध्यक्ष रघुनाथ खनालले ढुङ्गा, बालुवा तस्करी रोक्नका लागि सम्बन्धित ठाउँमा भने पनि कुनै जवाफ नपाएको बताए । दुई सता यता तस्करी भइरहेको स्थान चारैतिर खुला नाका छ । ढुङ्गा तस्करहरु स्थानीय भएकाले पनि रातारात तस्कर खोलामा रम्ने गरेको स्थानीयबासी बताउँछन् ।
नेपाल सरकारले २०७४ असार १ गतेदेखि नदीजन्य बस्तु उत्खनन् गर्न पूर्ण बन्देज लगाएको छ । तर पनि स्थानीय खोलाको तटबन्धन गर्ने बहानामा तस्करहरुले रातारात तस्करी गरिरहेका छन् । रातारात धनी हुन खोज्ने तस्करहरुको भीड अहिले टाङ्टिङ खोलातर्फ आकर्षित भएको छ । सो क्षेत्रमा ढुङ्गा, बालुबा उत्खनन कार्य बन्द नभए सयौं बिगाह जमिन सहित ५० घरपरिवारलाई जोखिम पुग्ने देखिन्छ ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर