Aamsanchar

वर्षेनि डुब्छन् उनीहरु

Author Image
आइतवार, भदौ ११, २०७४

[सुरेन्द्र भण्डारी]
राजगढ।

रातको १० बजेको हुँदो हो । गाई बस्तु डा…डा.. डूँ.. डूँ.. गर्दै कराउँदा झल्याँस्स व्युझिँए । व्युझँदा मानिस भाग–भाग भन्दै थिए । निष्पट्ट अँध्यारो थियो । खटियामा काखे छोरी लिएर सुतेकी म के भएछ भनेर खुट्टा भुइँमा टेक्दा घुँडामाथिसम्म पानी आयो । म अत्तालिएँ । म आत्तिएको सुनेर श्रीमान् उठ्नुभयो । उहाँ उठ्ता नउठ्ता सुतेको ओच्छयानसम्म पानी आयो ।

हत्तपत्त छोराछोरी काखी च्याप्यौँ । घरको टाटी त्यतिवेला नै लडे । भाग्न सक्ने अबस्था थिएन । बाहिर कोलाहल मच्चिएको थियो । सबै बचाऊ–बचाऊ भन्दै थिए । म र श्रीमान्ले छोराछोरी काँधमा राखेर कम्मर–कम्मर पानीको पर्वाह नगरी घर छाड्यो । वाहिर मुसल्धारे पानी परिरहेको थियो । ज्यान बचाउन मुसल्धारे पानीमा छोराछोरी भिजाउँदै घरदेखि केही तल रहेको शिवालय मन्दिरमा आधाघण्टा लगाएर पुग्यौं । लगाएको लुगा शिवाय हामीसँग केही थिएन । रातभर जागै बस्यौं– बाह्रदशी गाउँपालिकाको वडानम्वर–२ सुकुम्वासी टोलकी लुखी हेमरमले साउन २७ गते आएको वाढीको स्मरण गर्दै भनिन्– ‘त्यो दिन भाग्यले बाच्यौँ ।’
उनी र उनको परिवारको मात्र समस्यामा थिएन त्यो रात । सुकुम्वासी टोलका ५१ घर परिवारको समस्या एउटै थियो । अन्धुवा खोलामा आएको बाढीका कारण सबैघर एकैपटक डुवेका थिए । सन्थाल समुदायको बढी बसोबास रहेको सुकुम्वासी टोलमा दुई दिनसम्म पानी जम्दा फुसका सबै जसोघर भत्किए । बचेका केही घरहरु काम नलाग्ने भएका छन् ।
पानी सुकेपछि घर फर्किएका अधिकांशको घर नै छैन । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने सुकुम्वासी टोलमा अहिले खाद्यान्न अभाव छ । उनीहरु मध्ये केही बिरामी पर्न थालेका छन् । न त उनीहरुसँग ओत लाग्ने छानो छ ,न त उनीहरुलाई खानका लागि अन्नपात नै छ । दाताले दिएको राहत सामग्रीले प्राण धान्दै छन् उनीहरु । केहीलाई कर्णाली बचत तथा ऋण सहकारी संस्थाले राहत सामग्री उपलब्ध गराएको छ भने केहीलाई नेपाल रेडक्रस सोसाइटीले ।
५१ घर परिवारमध्ये केहीले अहिलेसम्म राहत सामग्री नपाएको गुनासो गरेका छन् । बाढीले विल्लिबाठ बनाउँदासमेत राज्यको कुनै निकायले नहेरेको उनीहरुको गुनासो छ ।
वढी पीडित सुकुम्वासी टोलका ६६ वर्षीय ठुइँया राजवंशी अहिले सिकिस्त बिरामी छन् । उनको उपचारका लागि परिवारले न त आर्थिक स्रोत जुटाउन सकेको छ, न त खाने अन्न नै जुटाउन सकेको छ । चिसो भुँइमा प्लाष्टिक ओछ्याएर श्रीमानलाई राख्नुपरेको श्रीमती हितकुमारी राजवंशीले बताइन् । उनले भनिन्– बाढी आएको रात भिज्नु भएका उहाँ त्यस यता ज्वरोले थलिनुभएको छ ।
उनीमात्र होइन सो टोलका बच्चे हेमरम पनि बिरामी छन् । घरमा पालेका चौपाया जोगाउन जाँदा लडेर घाइते भएका हेमरम अहिले औषधि उपचारको अभावमा ज्वरोले शिथिल छन् । बाढीका कारण उनको घरको छानो नभत्किए पनि सवै टाटी लगेर छानोमात्र टक्रक्क छ । त्यही छानोमुनि भेटिएका उनले भने– राहतको नाममा दुई हजार पाएँ, पाँच किलो चामल, अलिकती दाल र एक प्याकेट नून पनि दिइएको थियो । भाँडावर्तन बाढीले सबै बगाएर लग्यो, के मा पकाएर खाने उनले प्रतिप्रश्न गर्दै भने– बाढीले बगाएर ल्याएको कुच्चिएको भाँडामा जसोतसो पकाएर खाँदैछौं ।
बाढी प्रभावित सुकुम्वासी टोलमा रहेका अधिकांश बालबालिका र वृद्धवृद्धा श्वासप्रश्वासमा समस्या, ज्वरो आउने, वाक्वाकी लाग्ने, टाउको दुख्ने र झाडापखालाले थलिएका छन् । उनीहरु दाताको आशामा दिन गुजार्दैछन् । भएको घर, घरमा राखिएको अन्नपात र ओढ्ने ओछ्याउने सबै बाढीले बगाएपछि उनीहरुमा खाने र बस्नेको समस्या देखिएको छ ।
झण्डै सात वर्ष अघि साविक राजगढ गाविस वार्ड नम्वर–५ गच्छीमारी उत्तरको भू–भाग अतिक्रमण गरेर बसेका उनीहरु वर्षाको समयमा त्यसयता बर्षेनि डुवानमा पर्ने गरेका छन् । मनकामना सामुदायिक वनको पश्चिमी तट र शिवालय मन्दिरको उत्तरको भू–भागमा बसोवास गर्ने उनीहरुका लागि प्रत्येक वर्ष जिल्ला दैवी प्रकोप उद्धार समिति, नेपाल रेडक्रस सोसाइटी, स्थानीय संघ संस्था र नागरिक समाजका अगुवाहरुले राहत सामग्री प्रदान गर्दै उद्धार गरेपनि उनीहरुले उक्त स्थान नछाडेका कारण समस्या दिन प्रतिदिन बढ्दै गएको बाह्रदशी गाउँपालिका वडा नम्वर २का अध्यक्ष यादव मिश्रले बताए ।
ठाउ“ छाडे घर सार्छुः अध्यक्ष राजवंशी
बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले सुकुम्वासी टोलका बाढीपीडितले आफूहरु बसेको स्थान छोड्न माने उपयुक्त स्थानको खोजी गरी आवासको व्यवस्था मिलाउने बताएका छन् । प्रत्येक वर्ष वर्षायाममा डुवानको समस्या झेल्दै आएका उनीहरुले आफू बसेको ठाउँ छोड्न नमानेका कारण बर्षेनि समस्या हुने गरेको बताए । उनले अगाडि भने–सुकुम्वासी टोल त्यसै पनि गहिरो स्थानमा छ एक साल डुवेको थाहपाएपछि उनीहरु अन्यत्रै सर्नुपर्ने हो तर, उनीहरु नै ठाउँ सर्न नमान्दा यो वर्ष मात्र होइन प्रत्येक वर्ष यस्तै समस्या आउँछ ।
बाढीवाट प्रभावित भएका सबै सुकुम्वासी टोलका नागरिकलाई उनले सुरक्षित स्थानमा सर्नका लागि पनि आग्रह गरेका छन् । केही दिनभित्रै हामी ठोस् निर्णय गर्छाै, त्यसपछि उनीहरुका लागि सुरक्षित बासस्थानको खोजी गर्दै ठाउँ सार्ने प्रक्रियामा हामी जान्छौं – अध्यक्ष राजवंशीले भने– सुकुम्वासी टोलका मानिसले ठाउँछाडे घर सार्छाैं ।
९० प्रतिशत पुरानै विस्थापित
झापाका बाढी प्रभावित मध्ये ९० प्रतिशत पुरानै र १० प्रतिशत मात्र नयाँ परिवार संख्या वाढीका कारण विस्थापित भएका छन् ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको त्रिवर्षीय तथ्याङ्क हेर्दा बिस्थापित हुनेमध्ये ९० प्रतिशत पुरानै र १० प्रतिशत मात्र नयाँ हुने गरेको पाइएको हो ।
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार विगतका वर्षमा जो–जो वाढीका कारण विस्थापित भएका थिए यस वर्ष पनि अधिकांश तिनै परिवार विस्थापित भएका छन् ।
होचो भू–भाग र नदीको तटमा बसोबास रहेको बस्ती बढी डुवानमा पर्ने गरेका छन्– सभापति ढकालले भने– राहत वितरणमा पनि यसले समस्या उत्पन्न गराउँदोरहेछ ।
वाढीका कारण जो बढी प्रभावित छ उसलाई राहत बितरणमा प्राथमिकता दिइन्छ तर यहाँ राहत पाउने अपेक्षा सबैको हुँदो रहेछ, बढी प्रभावित भएको परिवार उतै अल्मलिन्छ, जो सामान्य प्रभावित छ उनै राहत थाप्न अगाडि आइपुग्छन् ढकालले भने ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्क अनुसार गत वर्ष आएको बाढीका कारण झापामा १२ जनाले ज्यान गुमाएका थिए भने तीन जना वेपत्ता भएका थिए । तत्कालीन ६ नगरपालिका र १७ गाविसका एक हजार चार सय ७० घर परिवार बाढीका कारण प्रभावित भएका थिए भने ५६ परिवार पूर्ण रुपमा विस्थापित थिए । एक हजार ४ सय १४ परिवार भने आंशिक विस्थापित भएका थिए ।
यसवर्ष आएको बाढीका कारण झापाका ६ हजार एक सय ६ परिवार बिस्थापित भएका छन् । जसमध्ये एक हजार तीन सय ८६ परिवार पूर्णरुपमा बिस्थापित भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।
गत वर्ष बाढीका कारण सबैभन्दा बढी शिवसताक्षी, डाँगीवारी, राजगढ, केचनाका सर्वसाधारण प्रभावित भएका थिए । यस वर्ष भने झापा गाउँपालिकाका सर्वसाधारण सबैभन्दा बढी प्रभावित बने । जसमध्ये गत वर्ष जो–जो बाढी प्रभावित थिए उनीहरु नै यस वर्ष पनि बाढीका कारण विस्थापित बनेका छन्– झापा गाउँपालिकाका प्रमुख जयनारायण साहले भने । बाढीका कारण झापा गाउँपालिकाका मात्रै ५ जनाले ज्यान गुमाएका छन् ।
कनकाईमाई र विरीङ गाउँ पस्दा सिङ्गो झापा गाउँपालिका डुव्यो उनले भने–कनकाई र विरीङको तीन–तीन किलोमिटर क्षेत्रफल तटबन्धन नगर्ने हो भने यो समस्या झापावासीले वर्षेनि व्यहोर्नुपर्छ ।जनताको तटवन्धनसँग सहकार्य गर्दै यसैवर्षवाट विरीङ र कनकाईमा तटवन्धन गर्ने कार्य शुरु गर्ने बताउँदै अध्यक्ष साहले भने– ‘पुरानो शरणामती पश्चिमबाट कनकाई नगरपालिकाको वोर्डरसम्म विरीङ र कनकाईमाईको पनि मदरगाछ पश्चिम कछुदहबाट शिवसताक्षीको सीमानासम्म तटवन्धन गर्न सकियो भने ८० प्रतिशत हाम्रो गाउँपालिकाको डुवानको समस्या समाधान हुन्छ ।
दुवै नदीमा तटवन्धनका लागि झण्डै ६ करोड रुपैयाँ लाग्ने बताउँदै अध्यक्ष साहले भने– यो वर्ष बजेट आयो भने आगामी वर्षबाट हामीले बाढीको समस्या झेल्नुपर्दैन । जिल्ला दैवी प्रकोप उद्धार समितिसँग सहकार्य गर्दै नेपाल रेडक्रस सोसाइटी झापाले बाढी प्रभावितका लागि चार हजार एक सय ८६ थान त्रिपाल, दुई हजार ८२ थान कम्वल, एक हजार ४३ सेट भाँडा वितरण गरेको छ । राहत पाउने अधिकांश विस्थापित परिवार गत वर्षकै रहेका छन् ।
विपद् व्यवस्थापन ऐन परिर्वतन गर्नुपर्छ– प्रजिअ तिवारी
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवी प्रकोप उद्धार समिति झापाका संयोजक ऋषिराम तिवारीले विपद् व्यवस्थापनका लागि विपद् व्यवस्थापन ऐन नै परिर्वतन गर्नुपर्ने बताएका छन् ।
वर्षायाममा मात्र विपद् व्यवस्थापनका लागि सक्रिय हुने संयन्त्रले अन्य समयमा काम गर्न नसक्दा वर्षेनि समस्या दोहोरिने र विस्थापित हुने परिवार संख्या तिनै हुने गरेको उनले बताए । विपद् व्यवस्थापनका लागि निश्चित कार्ययोजना बनाएर अगाडि नबढेसम्म समस्याको समाधान नहुने उनको भनाइ छ ।
झापामा बाढीका कारण विस्थापित बनेकाहरुका लागि आफ्नो तर्फबाट सहयोगको कुनै कमी आउन नदिने प्रजिअ तिवारीले बताए । उद्धारपछि राहत वितरणको काम भइरहेको र कसैले राहत नपाए खवर गर्न समेत उनले आग्रह गरे ।
विपद्पछि स्वास्थ्यमा समस्या आउने बताउँदै प्रजिअ तिवारीले भने– झापाका सवै स्वास्थ्य संस्थामा पर्याप्त औषधि पठाइसकेको र केही अस्पताल स्वास्थ्य संस्था पुग्न नसके बाढी प्रभावित क्षेत्रमा नै गएर स्वास्थ्यकर्मीलाई सेवा दिन निर्देशन भएको छ ।

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर