Aamsanchar

स्वाइनफ्लू रोगविरुद्धको भ्याक्सिन लगाइदै

Author Image
बुधवार, भदौ १४, २०७४

बिर्तामोड।

झापा स्वाइनफ्लू रोगको उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । बिर्तामोडमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै वीएण्डसी हस्पिटलका फिजिसियन डा. प्रमोद साहले स्वाइनफ्लूका कारण बिर्तामोडका दुई महिलाले ज्यान गुमाएको र खुल्ला सीमानाका कारण संक्रमित व्यक्ति पनि नेपाल आउन सक्ने भएकाले झापा रोगको उच्च जोखिममा रहेको बताए ।
साउन महिनामा मात्रै स्वाइनफ्लू रोगको संक्रमणबाट बिर्तामोड–४ निवासी ४७ वर्षीया अनीतादेवी मित्तल र बिर्तामोड–१ निवासी ३७ वर्षीया मनिषा अग्रवालले ज्यान गुमाएका थिए । दुवैको उपचारका क्रममा भारतको राजधानी दिल्लीस्थित एपोलो हस्पिटलमा मृत्यु भएको थियो । उनीहरुको मृत्युपछि बिर्तामोडका सर्वसाधारणमा स्वाइनफ्लू रोगको संक्रमणको त्रास फैलिएको थियो ।
योसँगै बिर्तामोडस्थित वीएण्डसी हस्पिटलले रोगको संक्रमणबाट बच्न छुट्टै ओपीडी सञ्चालन गर्दै सर्वसाधारणको स्वास्थ्य परीक्षण शुरु गरेको छ । रोगबाट बच्नका लागि हालसम्म १५ जनाले एचवान एनवान भ्याक्सिन लगाएको अस्पतालका फिजिसियन डा. साहले बताए । रोगको संक्रमण फैलन नदिन र जोखिम कम गर्न १५ वटा छुट्टै बेडको व्यवस्थासहित नेदरल्याण्डबाट औषधि झिकाएर सेवा प्रदान गरिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए ।
निजीस्तरबाट भएपनि अस्पतालले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गरिरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । उनले भने– ‘यो रोगको संक्रमणबाट बच्च लगाइने भ्याक्सिनको मूल्य अत्यन्त कम रहेको र भ्याक्सिन लगाएपछि एक वर्षसम्म स्वाइनफ्लू संक्रमणको हुने चिन्ता हुँदैन ।’

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर