टंक काफ्ले विकल्प /बुधबारे।
बुद्धशान्ति गाउँपालिका वडा नं. १ र २ का बासिन्दालाई हिउँदेबाली तथा तरकारी खेती गर्न सिंचाइका लागि नहरको सुविधा हुने भएको छ ।
एशियाली विकास बैंक (एडिबी)को लगानीमा बुद्धशान्ति वडा नं. १ र २ मा हिउँदेबाली तथा तरकारी खेतीका निम्ति विरीङ खोलाबाट नहर बन्ने भएपछि उनीहरुलाई उक्त सुविधा प्राप्त हुने भएको हो ।
विरीङ खोलाबाट उक्त २ वडामा सञ्चालित लक्ष्मी विरीङ पैनी, कार्की पैनी, सुब्बा पैनी र बिर्ता पैनी गरी चालू ४ पैनीहरूले सिंचाइ गर्ने जमिनलाई मध्यनजर गरी एकीकृत नहर निर्माण गरिने भएको हो ।
एकीकृत नहर उपभोक्ता समितिका अध्यक्ष अग्नीप्रसाद उप्रेतीको अध्यक्षता र एशियाली विकास बैंक एवम् सिंचाइ डिभिजन कार्यालयका विज्ञहरूको सहभागितामा दुबै वडाका उपभोक्ता किसानहरुको आम भेलाले सो निर्णय गरेको हो ।
एडिबीका आयोजना प्रमुख प्रदीपराज पाण्डेले यस नहरको निर्माणशैली लक्ष्मी विरीङ पैनीको मुहानबाट आरम्भ भई क्यानल सिस्टमले कार्की पैनी, सुब्बा पैनी हुँदै बिर्ता पैनीमा ओरालेर सञ्चालन हुने गरिको रहने बताए । उनले गहिरिँदै गएको नदीको अवस्थालाई रोक्न दीर्घकालीन सोच राख्नुपर्ने नत्र नहर र अन्य पैनीका मुहानहरू झुण्डिन सक्ने खतरा पनि औंल्याए ।
कार्यक्रममा प्रमुख अतिथि सामाजक विकास विज्ञ सुशिलकुमार सुवेदीले नहर निर्माणमा एडिबीले लगानी गर्ने भएपनि यो छुट्टै योजना नभई समुदाय व्यवस्थित सिञ्चित कृषिक्षेत्र बृहत् आयोजना अर्थात् छाता आयोजना अन्तर्गत रहेको योजना भएको बताए । उनले नहर निर्माणका निम्ति किसानका जमिन र बालीनालीहरू निर्माण क्षेत्रभित्र पर्ने भएकोले त्यसको क्षतिपूर्ति एडिबीले नब्यहोर्ने बताए ।
कार्यक्रममा बुद्धशान्ति १ र २ का वडाध्यक्ष भीमकुमार नेवार र दिलीप श्रेष्ठले यो नहर बन्न सहज होस् भन्ने उद्देश्यले जयपुरबाट खुदुनाबारी जाने बाटो उत्तर खोला ठेक्का रोकिएको बताए । त्यस्तै गाउँपालिकाका तर्फबाट टेक्निकल इञ्जिनियर ओमप्रकाश गुप्ताले प्राविधिक विषयका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा उपभोक्ता हरूको तर्फबाट खडानन्द वाग्ले, ज्ञाननाथ पौडेल, पहलमान बराल, पूर्ण सञ्जेल, बसन्त तिम्सिना, दुर्गा कुइँकेल, पद्मादेवी बजगाईं, दिवा सापकोटा लगायतले योजना सफल बनाउन आफूहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रमको सञ्चालन एकीकृत नहर उपभोक्ता समितिका सचिव शिव गिरीले गरेका थिए ।