(नरेन्द्र ढकाल)

झापा । 
नेपालको कुल जनसंख्याको एक चौथाई बढी मानिस मानसिक रोगी रहेको चिकित्सकहरुले बताएका छन् । नेपाल जस्तो विकाशिल मुलुकमा मानसिक रोगीको संख्या दिनप्रतिदिन बढ्दै जानु चुनौतिको विषय बन्न थालेको डाक्टरहरुले बताएका छन् ।

नेपालका कति मानिसमा मानिसक रोगको समस्या छ भन्ने यकिन तथ्याङ्क समेत नभएको विर्तामोड स्थित बी एण्ड सी टिचिङ्ग हस्पिटलका मानसिक रोग विशेषज्ञ तथा मनोविश्लेषक डा. कञ्चन दाहालले बताए । मानसिक रोगका कारण समाजमा विभिन्न खालका अपराध समेत बढ्दै गएको उनको भनाई छ ।
झै–झगडा, आत्महत्या, र्दुर्वेसनी लगायतका कारणको रुपमा मानसिक रोग बन्ने गरेको मनोविश्लेषक डा. दाहालले बताए । विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार करिब २५ प्रतिशत मानिस कुनै न कुनै प्रकारको मानसिक समस्याबाट पिडीत रहेका छन् । मानसिक रोगलाई हाल मनोरोग भन्ने गरिएको छ । मनोरोग अन्तरगत अति सामान्य समस्या टेन्सन हेड्याकदेखि अति कडा रोग सिजोफोर्नियासम्म पर्ने गरेका मानसिक रोग विशेषज्ञ डा. दाहालले जानकारी दिए ।

विश्वमा करीब ४७ करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पिडीत छन् । विश्वका १० खतरनाक रोग जसले मानिसको दैनिक क्रियाकलापमा असर गर्छ तिमध्ये ५ वटा मानसिक रोगका कारणले गर्दा हुने विभिन्न तथ्याङ्कहरुले पुष्टि गरेका छन् । तिनीहरु डिप्रेसन, मेनिया, सिजोफोर्निया, दूव्र्यसनी र डिमेन्सिया रहेका छन् । डिप्रेसन रोग सबैभन्दा बढी पाइने मनेरोग रहेको डा. दाहालले बताए ।
झापामा पनि डिप्रेसनका रोगीहरु ध्ेरै रहेको र आफ्नो रोगलाई लुकाउने गरेका कारण मानिस विभिन्न अपराधमा समेत फस्ने गरेको चिकित्सकहरुले दाबी गरेका छन् । नेपालमा मनोरोगका बिरामीलाई उपचार गर्ने जनशक्तिको कमी रहेको जनाइएको छ । साइक्याट्रिक मनोरोग विशेषज्ञ, साईक्याट्रिक नर्स, साइकोलोजिष्ट र सामाजिक कार्यकर्ता मनोरोगका बिरामीको उपचारमा संलग्न रहने गरेपनि नेपालमा जनशक्रि अभाव रहेको जनाइएको छ ।
खासगरी मानिसमा परेको समस्यासंग जुध्न नसक्दा मानसिक रोग लाग्ने गरेको चिकित्सकहरुको निश्कर्ष रहेको छ । तर वंशानुगत रुपमा पनि मानसिक रोग लाग्ने संभावना रहेको डा. दाहालले जानकारी दिए । मिहनेत गर्न नछोड्ने, अनावश्यक कुरामा बारम्बार एकोहोरो सोचाई नगर्ने, लागु पदार्थ सेवन नगर्ने अनि मनमा रहेको समस्या अरुलाई बाँड्ने गर्नाले मानसिक रोग लाग्ने सम्भावन कम हुने उनको भनाई छ ।
झापामा बढ्दो रुपमा रहेको आत्महत्याको प्रमुख कारण मानसिक समस्या देखिएको डाक्टर दाहालले जानकारी दिए । वर्षेरुपमा बढ्दै गएको आत्महत्याको दर बेलैमा रोक्न नसक्ने हो भने यसले समाजमा ठूलो असर गर्ने उनले दाबी गरे । यसैबीच अञ्चल प्रहरी कार्यालय मेचीले पूर्वका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङमा आत्मत्या रोकने हिसाबले विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए । उनले मानसिक रोग विशेषज्ञ डाक्टरहरुलाई पनि कार्यक्रमहरुमा सहभागि गराएर सर्वसाधारणलाई जानकारी दिने गरेको उल्लेख गरे ।
अधिकांश मानिसहरुमा मानिसक रोग लाग्ने भएकाले यसको बेलैमा उपचार गर्न सकेका यो रोगबाट छुटकारा पाउन सक्ने बी एण्ड सी हस्पिटलका डा.दाहालले बताए । नेपालमा नै पहिलो पटक मानिसक रोग तथा मनोपरामर्श दिने हस्पिटलको रुपमा बी एण्ड सी हस्पिटल रहेको डा. दाहालले दाबी समेत गरेका छन् । हाल दैनिक ५–७ जना मानसिक रोग भएका बयक्तिहरु उपचारका लागी आउने गरेको र उनीहरुलाई विभिन्न मनोपरामर्श सहित औषधी समेत सञ्चालन गरेर उपचार भइरहेको डा. दाहालले जानकारी दिए ।

