Aamsanchar

गौरीशंकरले दिएको खुशी

Author Image
शनिवार, भदौ १७, २०७४

[सुरेन्द्र भण्डारी]
डाँगीवारी।

भाइ स्कूल गएको देख्दा मलाई पनि स्कूल जान मन लाग्थ्यो । म आमासँग स्कूल जान्छु भनेर रुन्थें । बुवा–आमा घर बनाउने काम गर्न बिहानै हिँड्नु हुन्थ्यो । म दिनभर एक्लै तीन जना भाइलाई हेरेर घरमै बस्नु पथ्र्याे । भाइसँगै स्कूल जान कहिले काँही जिद्धी गर्दा आमाले मलाई वेस्सरी कुट्न पनि भएको छ । ‘भाइ कस्ले हेर्छ तँ स्कूल गइस् भने भन्दै आमाले मलाई झपार्नु हुन्थ्यो’– बाह्रदशी गाउँपालिका–६ सुकुम्वासी टोलकी १३ वर्षीया शकुन्तला हस्दाको भनाइ हो यो ।
उनी अहिले साविक डाँगीवारी–९मा रहेको गौरीशंकर माध्यमिक विद्यालयमा कक्षा १मा अध्ययन गर्छिन् । उनीसँगै उनका तीन भाइ पनि कक्षा १मा पढ्छन् भने उनको एउटा भाइ सुन्दर कक्षा २मा अध्ययनरत् छन् । शकुन्तलासँग सुनील, वुधन र लुखीराम भने कक्षा १मा अध्ययनरत् छन् । पढ्ने मन भएर पनि आमा–बुवाका कारण स्कूल जान नपाएकी शकुन्तला अहिले स्कूल जान पाउँदा औधि खुशी छिन् । चार जना भाइलाई साथमा लिएर विद्यालय जाँदै गर्दा विद्यालयको प्राङ्गणमा भेटिएकी उनले भनिन्– ‘मलाई स्कूल पढ्न पाइएला जस्तो लागेकै थिएन, यो स्कूलबाट जानुभएका सर मिसले बुवा–आमालाई भनिदिएपछि म स्कूल आउन थालेकी हुँ ।’
शकुन्तलाकी एक दिदी जमुना पनि छिन् । उनी अहिले आमा–वुवासँगै मजदुरी गर्न हिँड्छिन् । उनले पनि गौरीशंकर माविमा कक्षा ३ मा पढ्दापढ्दै स्कूल छाडेको शकुन्तलाले बताइन् । उनले भनिन्– ‘दिदीले पनि यही स्कूल पढेकी हो । ऊ पनि स्कूल आउन त मन गर्छे, हामी सबै स्कूल आउन थालेपछि दिदी आमावुवासँग लेवर काममा जान्छे ।’ सोरेन र फूलमनी हस्दाकी माहिली छोरी हुन्– शकुन्तला । उनका चार जना भाइ छन् । सवैको उमेर एकदेखि दुई वर्ष मात्र फरक छ । पढेर के गर्ने हो केही थाहा छैन उनले भनिन्– ‘पढ्दा ठूलो मान्छे भइन्छ भन्ने सुनेकी छु ।’ आमा–बुबा बिहानै ढलानको काममा निस्कनुहुन्छ– शकुन्तलाले भनिन्– ‘कुनै–कुनै दिन त भोकै पनि स्कूल आउनुपर्छ, भाइलाई खुवाउँदा खुवाउँदै भात सकिन्छ अनि हतारहतार गर्दै म नखाई पनि स्कूल आउँछु ।’
पढाइमा लगनशीलता भए पनि शकुन्तलाको पढ्ने किताब अहिले छैन । साउन २७ र २८ गते आएको बाढीका कारण उनको किताव कपी सवै भिजेका छन् । काम नै नलाग्ने गरी किताब कपी भिजेपछि उनले विद्यालयका शिक्षकलाई दुःखेसो पोखेपछि एकसेट किताब पुनः विद्यालयले उपलब्ध गराएको बताउँछन्– विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवाल । उनी भन्छन्– हामीले यस वर्ष सञ्चालन गरेको भर्ना अभिभानका क्रममा सुकुम्वासी बस्ती पुग्दा शकुन्तलाको कुरा सुन्यौं, उनका बुबा–आमालाई सम्झाइबुझाइ गरेर चारै जनालाई विद्यालयसम्म आउने बनाएका छौं ।’
आर्थिक अवस्था कमजोर भएकै कारण सोरेन र फूलमनीले शकुन्तला र उनका भाइलाई स्कूल नपठाएका रहेछन्, सम्झाइबुझाइ गरेपछि उनीहरुलाई स्कूल पठाएका छन्– प्रधानाध्यापक कटुवालले भने । सीमान्तकृत समुदायमा पर्ने सन्थाललाई सरकारले छात्रवृत्ति स्वरुप पाँच सय रुपैयाँ रकम प्रदान गर्दै आएको छ । सोही रकमबाट शकुन्तला र उनका भाइहरुले विद्यालय पोशाक र कपी कलमको व्यवस्थापन गर्दै आएका छन् ।
पुरानो र मैलो लुगा लगाएर विद्यालय आएका शकुन्तलाको एक भाइ त खाली खुट्टमा थिए । जुत्ताचप्पल किन्ने पैसा छैन सर शकुन्तलाले भनिन्– स्कूल आउन त कहाँसम्म छ, कस्ले किन्दिन्छ जुत्ताचप्पल । मैले पनि पोहोर दशैंमा किनेको चप्पल लगाएर आएकी छु– शकुन्तलाले चुट्टिएको चप्पल देखाउँदै भनिन् । शकुन्तलामात्र होइन सो विद्यालयमा अति विपन्न समुदायका धेरै बालबालिका अध्ययनरत् रहेको विद्यालयका अध्यक्ष महेशकुमार झाले बताए । अधिकांश सीमान्तकृत, आदिवासी, जनजाति र मधेशी समुदायका बिद्यार्थी यो स्कूलमा पढ्छन्– अध्यक्ष झाले भने– विपन्न समुदायका बालबालिका अध्ययनरत् रहे पनि उनीहरुको पढाइ भने अब्बल छ ।
बालबालिकाका लागि विद्यालयले अतिरिक्त कक्षाको पनि व्यवस्था गरेको बताउँछन्– विद्यालयका प्रधानाध्यापक कटुवाल । उनी भन्छन्– हामीले यो विद्यालयलाई नमूना विद्यालय बनाउने सोच बनाएका छौं, तर के गर्ने हरेक वर्ष समस्यैं समस्याले गाँज्छ ।’ यो वर्ष पनि विद्यालयमा बाढीले असर पु¥याएको छ– प्रधानाध्यापक कटुवालले भने – ‘प्रत्येक वर्ष विरीङ खोलामा आउने बाढी पस्न थालेपछि विद्यालय वरिपरि पर्खाल लगाएका छौं । त्यसले भरिएर आएको पानी केही मात्रामा भए पनि छेकिदिन्छ ।’ बाढीका कारण धेरै विद्यार्थीको घर भत्कँदा उनीहरुका कपी र किताब छैनन् ।

विद्यालयले व्यवस्थापन गर्न सक्ने अवस्था पनि छैन– प्रधानाध्यापक कटुवालले भने– विद्यार्थीलाई पुराना किताव भए पनि दिइरहेका छौं, जतिसक्दो राम्रो गर्ने प्रयत्न भने जारी नै छ ।’ सो विद्यालयमा अहिले कक्षा १ देखि ८ सम्म ५ सय २१ , कक्षा ९मा ७५ , कक्षा १०मा ६२ र कक्षा ११ र १२मा ९८ जना विद्यार्थी अध्ययनरत् रहेको विद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले बताए ।
गौरीशंकर माविले सञ्चालन गरेको भर्ना अभियानका कारण शकुन्तला विद्यालय आएकी हुन् । उनीजस्तै उनको समुदायमा अरु पनि धेरै बालबालिका अध्ययनबाट बञ्चित छन् । झापालाई साक्षर जिल्ला घोषणा गरिएपनि विद्यालय आउन नपाएका अझैं धेरै बालबालिका विद्यालय वाहिर नै छन् ।
साविक डाँगीवारी गाविसमा सन्थालसहित राजवंशी, कुमाल, हजामहरुको बढी बसोबास छ । केही आर्थिक रुपमा सम्पन्न भएपनि केही अति विपन्न छन् ।

विपन्न परिवारका अधिकांश विद्यार्थी सो विद्यालयमा अध्ययनरत् छन् । उनीहरुका लागि विद्यालयले पढाइको गुणस्तर सुधार्दै निजी विद्यालय सरह अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरेको छ । तर, अभिभावकले नै साथ नदिएका कारण सवै कक्षालाई पूर्ण रुपमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउन नसकिएको प्र्रध्यानाध्यापक कटुवाल बताउँछन् ।
सरकारले दिएको छात्रवृत्ति पनि विद्यार्थीले पाउँदैनन्, अभिभावकले खर्च गर्नु पर्ने अबस्थाका कारण हामीले सोचे अनुरुप प्रगति गर्न सकिरहेका छैनौं– प्रधानाध्यापक कटुवालले भने– २०५३ सालबाट दाताको सहयोगमा चलेको विद्यालय अहिले पनि दाताकै सहयोगमा चलाइरहेका छौं ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर