पाँचथर।

फालेलुङमा गाउँपालिका–३ स्थित माङ्लेबुङ, ताङ्लेपा र विकेट क्षेत्रमा गत साउन २७ गते गएको पहिरोका कारण रु एक करोड छ लाख बराबरको कृषिबालीमा क्षति पुगेको छ ।

एक हजार ३७ रोपनी क्षेत्रफलमा लगाइएको धान, कोदो, मकै, अदुवा, अलैँचीलगायतका बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमल तिवारीले जानकारी दिनुभयो ।
यहाँका करिब १५० परिवारको खेतीयोग्य जमिनमा क्षति पुगेको छ । संकलन गरिएको क्षतिको विवरण जिल्ला प्रशासन कार्यालय र कृषि विभागमा पठाइएको छ । विभागबाट क्षतिपूर्ति आए बाढीपीडितलाई राहत उपलब्ध गराइने तिवारीले बताउनुभयो ।

पहिरो झर्ने क्रम नरोकिएको स्थानीयवासी दीपसन पौडेलले बताउनुभयो । सो क्षेत्रमा पहिरोका कारण ११४ परिवार विस्थापित बनेका छन् भने दुईजना बेपत्ता तथा एकजनाको मृत्यु भएको छ ।
Views: 108

