Aamsanchar

२ नम्बर प्रदेश : आठ जिल्लामा तीन गुणाभन्दा बढी मनोनयन

Author Image
बुधवार, भदौ २१, २०७४

काठमाडौं,

स्थानीय तहको तेस्रो चरणको चुनावका लागि बुधबार २ नम्बर प्रदेशका आठ जिल्लामा उत्साहजनक र शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको छ । यसअघि दुईपटक तोकिएको चुनाव सारेर २ नम्बर प्रदेशका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ ।

अघिल्ला चुनावमा भाग नलिएको राजपालेसमेत बुधबार निकै तयारीका साथ एक सय ३६ वटै स्थानीय तहमा उम्मेदवारी दिएको छ । पटक पटक चुनाव सारिएको भन्दै असन्तुष्ट बनेका दुई नम्बर प्रदेशका राजनीतिक दलका नेता कार्यकर्ताले निकै उत्साहका साथ असोज २ गते हुने चुनावका लागि उम्मेदवारी दर्ता गराएका हुन् । बेलुका ८ बजेसम्म ६ हजार ६ सय २७ पदका लागि १८ हजारभन्दा धेरैको मनोनयन दर्ता भएको जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको संख्या बढ्ने आयोगले जनाएको छ ।

राष्ट्रिय जनता पार्टीलाई समेत चुनावमा सहभागी गराउन सरकारले वैशाख ३१, असार १४ गते हुँदै असोजसम्ममा चुनाव सारेको थियो । सबैको अपेक्षाअनुसार संविधानप्रति असन्तुष्टि जनाउँदै पहिलो र दोस्रो चरणको चुनाव बहिस्कार गरेको राजपाले समेत सबै स्थानीय तहमा उम्मेद्वारी दिएपछि चुनावी रौनक झनै थपिएको उज्यालोका जिल्ला सहकर्मीहरुले जनाएका छन् ।

नौ वटा गाउँपालिका र नौवटा नगरपालिकासहित १८ वटा स्थानीय तह रहेको सप्तरीमा निकै उत्साहका साथ मनोनयन दर्ता भएको छ ।

त्यस्तै १७ वटा स्थानीय तह रहेको सिराहमा पनि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मै दलहरुले पालैपालो उम्मेद्वारी दर्ता गराएका छन् । सिरहमा उम्मेद्वारीकै विषयलाई लिएर कांग्रेसका दुई पक्षीबीच झडप हुनुबाहेक अरु अवस्था समान्य रह्यो । २० वटा स्थानीय तह भएको सर्लाहीमा उम्मेदवारी दर्ताको अवस्था उत्साहपूर्ण रुपमा भएको छ । उम्मेदवारको संख्या धेरै भएकाले राति ८ बजेपछि पनि मिलाउने काम गरिएको छ ।

उम्मेद्वारी दर्तासँगै कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, फोरक लोकतान्त्रिकलगायतका दलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दलहरुले तालमेलको प्रयास गरे पनि स्थानीय तहबाटै विरोधभएपछि नेतृत्वपछि हटेको छ । अघिल्ला दुई चरणको चुनावमा धेरै ठाउँमा तालमेल गरेका कांग्रेस र माओवादीले यसपटक भने धनुषाको मिथिला नगरपालिका र बाराको निजगढ नगरपालिकामा मात्रै केन्द्रीय स्तरबाट चुनावी सहकार्य गर्ने भएका छन् । अरु दल भने एक्ला एक्लै चुनावी मैदानमा उत्रेका छन् ।

१५ वटा स्थानीय तह भएको महोत्तरी, १८ वटा स्थानीय तह रहेका धनुषामा धुमधामका साथ मनोनयन गरियो । राजपाबाट जनकपुर उपमहानगरपालिकाको उम्मेद्वारी दिनुभएका, लालकिशोर शाहले मधेसी नागरिकको हक हितका लागि आफूले उम्मेद्वारी दिएको प्रतिक्रिया दिनुभयो ।

उम्मेद्वारी दर्ताको सूची बुधबार नै प्रकाशित भएपछि दल तथा उम्मेद्वारलाई चुनावी चटारोले छोपेको छ । १८ वटा स्थानीय तह रहेको रौतहट, १४ तहसहितको पर्सा र १६ वटा स्थानीय तह भएको बारामा पनि अरु जिल्लामा जस्तै मनोनयमा दलको उत्साह देखियो । रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा एमालेले दुई जनालाई उम्मेद्वार बन्न आधिकारिक स्वीकृति दिएपछि केही समय अन्योल भएको थियो । तर, अन्त्यमा बाबुराम दाहाललाई पछि सार्दै एमालेले उद्धव रेग्मीलाई चुनावी मैदानमा उतारेको छ ।

बारामा निकै सौहार्दपूण रुपमा मनोनय भएको उज्यालो सहकर्मी जयनारायण यादवको भनाइ छ । २ नम्बर प्रदेशमा ६ हजार ६ सय २७ जना प्रतिनिधि चयन हुनेछन् ।  चुनावका लागि २ हजार १ सय ६६ मतदानस्थल र ३ हजार ५७८ मतदान केन्द्र रहनेछन् भने चुनावमा २६ लाख ६४ हजार मतदाता सहभागी हुनेछन् । मनोनयन दर्तासँगै दलका नेता कार्यकर्ता, उम्मेदवार र मतदातामा पनि उत्साह थपिएको छ ।

सात प्रदेशका ७७ जिल्लाका ७५३ मध्ये पहिलो चरणमा गत वैशाख ३१ गते २८३ तथा दोस्रो चरणमा ३३४ स्थानीय तहको निर्वाचन भइसकेको छ ।उज्यालोबाट

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर