Aamsanchar

अनुगमन गर्दा राज्यमन्त्रीको गाडी तोडफोड

Author Image
शनिवार, असोज ७, २०७४

धनगढी,

बजार अनुगमन टोलीको नेतृत्व गरिरहनु भएका आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले प्रयोग गरेको गाडीमा आज कैलालीको टीकापुरमा तोडफोड भएको छ ।

टीकापुर बजारमा रहेको विष्ट आयल स्टोरलगायतका पसलमा अनुगमन गरिसकेपछि स्थानीय सिद्धार्थ होटलमा पुग्नु भएका राज्यमन्त्री विकले प्रयोग गर्नु भएको बा १ झ ९६६९ नं को जिप होटल परिसरमा रोकिएको अवस्थामा तोडफोड भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । तोडफोडबाट गाडीको पछाडिको भागमा क्षति पुगेको छ ।

बजार अनुगमनका नाममा पसलमा सिलबन्दी गर्ने प्रयास गरेको भन्दै विरोधमा उत्रिएका व्यापारीले जिपमा तोडफोड गरेको जनाइएको छ । प्रहरीले घटनापछि टीकापुर उद्योग वाणिज्य संघका दुई व्यवसायीलाई पक्राउ गरेको छ । घटनापछि आपूर्ति राज्यमन्त्री र प्रजिअको उपस्थितिमा समस्या समाधानको प्रयासका लागि सर्वपक्षीय बैठक बसेको छ ।

राज्यलाई तिर्नुपर्ने कर नबुझाउने माथि कारबाही गर्नुको साटो जिल्लाका साना व्यापारीलाई चाडवाडको समयमा जथाभावीरुपमा बजार अनुगमनको नाममा दुःख दिइएको भन्दै स्थानीय व्यापारीले विरोध गरिरहेका छन् ।

अनुगमन टोलीले तीन दिनअघि धनगढीका दुई पसलमा शिलबन्दी गरेको थियो ।

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर