(अमित खम्बू)
अर्जुनधारा।



झापाको अर्जुनधारा केराको मुख्य बजार हो ।यहाँ दक्षिणी इलाम र उत्तरी झापामा उत्पादित केराको संकलन हुन्छ । यो वजारबाट झापासहित नेपालका विभिन्न स्थानमा केरा विक्री भएर जाने गरेको छ ।
साप्ताहिक रुपमा यो बजारमा तीनदेखि पाँच लाखसम्मको केराको किनवेच हुने गरेकोमा पछिल्लो समय केराको बजार खस्कँदै गएपछि केरा खेती गर्ने किसान र केराको व्यापार गर्ने व्यवसायी चिन्तित बनेका छन् ।
बाहिरका केरा व्यापारी नआएका कारण केराको व्यापार खस्कँदै गएको स्थानीय कृषकले बताएका छन् । शनिश्चरे बजारमा साप्ताहिक रुपमा लाग्दै आएको हाटमा केरा खरिदका लागि बाहिरबाट आउने व्यापारी आउन छाडेपछि कारोबारमा गिरावट आएको बताइन्छ । अहिले प्रत्येक हाटमा एकदेखि दुई लाख रुपैयाँसम्मको मात्र केराको बिक्री बितरण हुने गरेको छ ।
बजारमा बिक्रीका लागि ल्याइने लोकल जातका केरा अग्र्यानिक छन् र स्वास्थ्यको दृष्टिले उपयुक्त भए पनि बाहिरका व्यापारीलाई त्यसले आकर्षित नगर्दा व्यापार खस्किएको व्यापारी उमानाथ बाँस्तोलाले बताए । लोकल जातको तुलनामा भारतीय केरातर्फ उनीहरुको आकर्षण बढ्नु र सबै बजारमा अधिकांश भारतीय केराको माग बढेका कारण समस्या श्रृजना भएको व्यापारी बाँस्तोलाले बताए ।
व्यवसायिक केरा खेतीका लागि आवश्यक जमिन साँघुरिएर उत्पादनमा कमी हुनु, केरा खेतीमा आवश्यक जनशक्ति बैदेशिक रोजगारीमा जानु, कृषकहरुलाई केरा खेतीबारे व्यवसायिक तालिमको कमी लगायतका कारणले पनि व्यापार खस्किएको बताइएको छ । अर्का व्यापारी लीला तामाङका अनुसार चोक–चोकमा राखिने बजार, गाउँमा रहेका व्यापारी र बाह्य व्यापारीहरुबीचको सम्पर्कका कारण बजारमा केरा नल्याइएकाले उनीहरुको आगमनमा कमी भएको हो ।
विगतमा चाडपर्वको समयमा एक घरीको सात सयदेखि आठ सय रुपैयाँसम्म पर्ने केराको मूल्य अहिले तीन सय रुपैयाँमा झरेको बर्पmल्याङका कृषक रमेश घिमिरेले बताए । ‘व्यापारीहरुको चलखेलमा वास्तविक कृषकहरु भने मारमा परेका छन्’– उनले भने ।
छिमेकी जिल्ला इलामको माई नगरपालिकास्थित दानाबारी र रोङ गाउँपालिकास्थित बर्फल्याङ केरा उत्पादनको मुख्य केन्द्र रहेको र विगतमा सोही केरा बजारमा विक्री हुँदै आएकोमा अहिले चिनीचम्पा, भँडारी जातका केरा बिक्री हुन थालेको व्यापारी तामाङले बताइन् । बजारमा जिल्लाको बिर्तामोड र चन्द्रगढीका खुद्रा व्यापारीहरुको उपस्थिति राम्रो भए पनि जिल्ला बाहिर पाँचथरको फिदिम, सिराहाको लाहान, धनुषाको जनकपुरसम्मका व्यापारीलाई प्रतिघरी दुईदेखि तीन सय रुपैयाँसम्ममा बेच्नुपरेको व्यापारी तामाङले बताइन् ।
असार, साउन र भदौ बाहेक अन्य महिना केराको सिजन हो । त्यसमा पनि असोज र कात्तिक दुई महिना बिभिन्न चाडपर्वहरुका कारण केराको माग बढ्ने गरेको छ ।


