Aamsanchar

दुधे गोल्डकपको उपाधी विजेता बन्यो, चर्च ब्वाइज युनाइटेड काठमाडौं

Author Image
बुधवार, असोज ११, २०७४

चारपाने असोज, ११ । झापाको शिवसताक्षी नगरपालिकामा भएको दूधे गोल्ड कपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौंले जितेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ८–७ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले पहिलो उपाधि हात पारेको हो ।उपाधि सँगै चर्च ब्वाइजले ३ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने एपीएफले १ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।पहिलो हाफको २८ औं मिनेटमा एपीएफका लागि सन्तोष श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समयमा एपीएफका हरि कार्कीले गोल गर्दै २–० को अग्रता कायम गरेका थिए।

२–० ले पछि परेको चर्च ब्वाइज खेलाडीहरुले दोस्रो हाफमा निक्कै मेहनतले खेल खेल्न थालेपछी दोस्रो हाफको १२ औं मिनेटमा चर्च ब्वाइजका कप्तान वर्षात गुरुङले एक गोल गरेका थिए ।३४ औं मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी अजय मार्टिन केले पनि एक गोल गरेपछी निर्धारित समयभित्र खेल २–२ को बराबरी बन्न पुगेको थियो ।टाइब्रेकरमा एपीएफका कप्तान समेत रहेका मिलन राईको प्रहारलाई चर्च ब्वाइजका गोल रक्षक बाबु मगरले बचाए । एपीएफका सुदिप शिखाकार, राजु नगरकोटी, सरोज कोइराला र पाल्साङ लामाको प्रहार गोलमा परिणत भएको थियो ।चर्च ब्वाइजका दिपेश श्रेष्ठको प्रहार पोष्टमा लागेर फर्किएको थियो । चर्च ब्वाइजका वर्षात गुरुङ, अजय मार्टिन, जङ्बु शेर्पा र छिरिङ गुरुङले गोल गरेका थिए ।

टाइब्रेकरमा समेत ४(४ को बराबरी भएपछि खेल सडन डेथमा गएको थियो । सडन डेथमा एपीएफका रुपबहादुर लामाको प्रहार बारमा लागेर फर्किएपछि उपाधि चर्च ब्वाइजको पोल्टामा पर्‍यो । सडन डेथमा एपीएफका शिवराम गिरी, युवराज खड्का र श्याम नेपालीले गोललाई पोष्टको दिशा दिएका थिए भने चर्च ब्वाइजका विशाल गुरुङ, सुरज राई, अल्बा मेसी र पिटर सेगुनको प्रहार गोलमा परिणत भएको थियो ।फाइनल खेलको म्यान अफ द म्याच विजयी टिमका छिरिङ गुरुङ घोषित भए । उनले नगद ५ हजार पाए ।

 

खेलमा सर्वाधिक गोलकर्ता एपीएफका युवराज खड्का घोषित भए भने म्यान अफ द टुर्नामेन्ट चर्च ब्वाइजका कप्तान वर्षात गुरुङ भए । खड्काले खेलमा व्यक्तिगत ३ गोल गरेका थिए ।प्रतियोगितामा ‘ए’ डिभिजनका ६ सहित ८ टिमको सहभागिता रहेको थियो ।खेलको समापन कार्यक्रममा आपूर्ति मन्त्री शिवकुमार मण्डलको प्रमुख आतिथ्य रहेको थियो ।

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर