Aamsanchar

झापा क्षेत्र नम्बर ३ बाट सिटौला कि लिङदेन ?

Author Image
शनिवार, असोज २१, २०७४

(पार्थ मण्डल)

झापा ।

राप्रपा झापा क्षेत्र नम्बर ३ क्षेत्रीय समितिले यस क्षेत्रबाट पार्टीका महामन्त्री राजेन्द्र लिङदेनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ ।

आगामी मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन उम्मेदवार छनौट र भावी चुनावी रणनीतिको बारेमा कचनकलव गाउँपालिकास्थित बनियानीमा बसेको क्षेत्रीय बैठकले महामन्त्री लिङदेनको नाम सिफारिस गरेको छ ।

त्यस्तै क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यका लागि नवराज पनेरु (राजु) को नाम सिफारिस गरेको छ । पनेरु स्थानीय तह निर्वाचनमा भद्रपुर नगरपालिकाका लागि राप्रपाबाट मेयर पदमा उठेका थिए । प्रतिनिधिसभा समानुपातिक उम्मेदवार तर्फ राधा कार्की, सीता लम्साल र लक्ष्मी साँवाको नाम सिफारिस गरेको छ । कार्की स्थानीय तह निर्वाचनमा भद्रपुरमा उपमेयर पदका उम्मेदवार बनेकी थिइन् ।

त्यसैगरी प्रदेशसभा समानुपातिक उम्मेदवार तर्फ सत्यनारायण यादव, रवि ओझा, रुद्रमणि अर्याल र कृष्ण सुब्बाको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले सिफारिस गरिएको नामावली जिल्ला कार्य समितिमा पठाउने निर्णय गरिएको क्षेत्रीय अध्यक्ष पनेरुले जानकारी गराए ।

पार्टीका महामन्त्री लिङदेनको प्रमुख आतिथ्यता भएको बैठकमा क्षेत्रीय (क) उपसमितिको अध्यक्षमा सत्यनारायण यादवको अध्यक्षतमा २७ सदस्य समिति गठन गरेको क्षेत्रीय प्रवक्ता ऋषिप्रसाद नेपालले जानकारी दिए । बैठकमा कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम, जिल्ला सहसचिव रुद्रमणि अर्याल लगायलते सुझाव राखेका थिए ।

सिटौला कि लिङदेन ?

राप्रपाले झापा क्षेत्र नम्बर ३ बाट महामन्त्री लिङदेनको नाम सिफारिस गरिएको बेला केन्द्रीय समितिले नेपाली काँग्रेससंग गठबन्धन गर्ने कसरत गरीरहेका छन् ।

नेपाली काँग्रेससंग राप्रपाको चुनावी गठबन्धन भएमा झापा क्षेत्र नम्बर ३ बाट राप्रपाका महामन्त्री लिङदेनले टिकट पाउने हो, कि काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले टिकट पाउने बिषयले अहिले चर्चा बटुलेको छ ।

नेपाली काँग्रेस क्षेत्रीय, नगर तथा गाँउपालिका समितिले यसअघि नै नेपाली काँग्रेसबाट सिटौलाको नाम सिफारिस गरी जिल्ला पठाइसकेको छ । अब केन्द्रिय समितिको अन्तिम निर्णयको पर्खाइमा कार्यकर्ता तथा यस क्षेत्रका स्थानीय जनता रहेका छन् ।

Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर