Aamsanchar

डेंगु नियन्त्रणमा बिर्तामोड नगरपालिका

Author Image
सोमवार, असोज २३, २०७४

बिर्तामोड।

डेंगु नियन्त्रणका लागि बिर्तामोड नगरपालिकाले काम शुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयसंग सहकार्य गर्दै डेंगु नियन्त्रणका लागि नगरपालिकाले काम शुरु गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । बिर्तामोडका हस्पिटलमा मात्रै डेंगुका ३६ जना बिरामी भर्ना भएका छन् ।
जिल्लामा डेंगुको संक्रमण फैलिइरहेको जनगुनासो बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिर्तामोडका बिभिन्न अस्पतालहरुमा ‘सर्भिलेन्स’ गरेको थियो । त्यसक्रममा साउन महिनायता बिर्तामोडका विभिन्न हस्पिटलमा डेंगुका बिरामी भर्ना भएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । ती हस्पिटलहरुमा जिल्लाभरका डेंगु रोगी भर्ना पाएको पाइएको छ । त्यसमा अधिकांश बिर्तामोडका बिरामी छन् । रोग फैलिएको गुनासो बढेपछि जनस्वास्थ्य कार्यालयले हस्पिटलहरुबाट तथ्यांक लिन थालेको हो ।
जनस्वास्थ्यका अनुसार केही बिरामी डिस्चार्ज भएर घर फर्किए पनि मनमोहन र मेडिका हस्पिटलमा अझै केही डेंगुका बिरामी छन् । जनस्वास्थ्यका भेक्ट्रल कन्ट्रोल अधिकृत घिमिरे, अहेव इन्द्रप्रसाद सुवेदी र बिर्तामोड नगरपालिकाका स्वास्थ्य संयोजक खगेन्द्रप्रसाद दंगालले बिर्तामोडका हस्पिटलहरुमा पुगेर तथ्यांक संकलन गरेका थिए । डेंगु नियन्त्रण गर्नका लागि बिर्तामोड नगरपालिकाले आइतबार बिहानैदेखि नगरस्तरीय कार्यक्रम शुरु गरेको छ । डेंगुका बिरामी झापा बाहिका हस्पिटलमा पनि गएर भर्ना भएको नगरपालिकाको दाबी छ ।
यो रोग नियन्त्रण गर्नका लागि सुरुमा वातावरण सफा राख्नुपर्ने जनस्वास्थ्यले जनाएको छ । बिर्तामोड नगरपालिका, प्रहरी, बाणिज्य संघ, जनस्वास्थ्य तथा नगरका अन्य विभिन्न संघ–संस्था मिलेर डेंगु नियन्त्रण अभियानमा जुटेका छन् । राजमार्ग आसपासका ग्यारेजमा राखिएको टायरहरुमा डेंगु सार्ने लामखुट्टको लार्भा भेटिएको थियो ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर