झापा।

आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा लागि नेपाली काँग्रेस र राप्रपाले चुनावी तालमेलका लागि झापासहित केही जिल्लामा उम्मेदवार चयनमा सहमत गरेको छ ।

नेपाली काँग्रेसले राप्रपालाई झापामा एउटा सीट दिने सहमत गरिसकेको जनाइएको छ । काँग्रेसले राप्रपालाई झापा क्षेत्र नम्बर ३ दिने आन्तरिक सहमति गरीसकेको जनाइएको छ । झापा क्षेत्र नम्बर ३ नेपाली काँग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र हो ।
२०७० सालको निर्वाचनमा सिटौला यस क्षेत्रबाट विजयी भएका थिए । सो निर्वाचन क्षेत्रमा राप्रपाले आफ्नो दावेदारी राखेपछि काँग्रेसले प्रतिनिधिसभाका लागि ३ नम्बर क्षेत्रको सीट दिन सहमति गरेको हो । राप्रपाबाट महामन्त्री राजेन्द्र लिङदेन उठने निर्णय भइसकेको पार्टी स्रोतले जनाएको छ । सिटौला भने समानुपातिक उम्मेदवार बन्ने काँग्रेसका एक नेताले बताए ।

यो निर्वाचन क्षेत्रमा भद्रपुर नगरपालिकासहित बाह्रदशी, हल्दीबारी र कचनकवल गाउँपालिकाका समायोजन गरी क्षेत्र निर्धारण गरिएको छ ।स्थानीय चुनावमा राप्रपाले हल्दीबारी र कचनकवल जितेको छ भने बाह्रदशीमा कांग्रेस तथा विर्तामोड र भद्रपुरमा एमालेले जितेको छ ।

